अन्तर्राष्ट्रिय

भारतको मुम्बईमा रेल दुर्घटनाः १५ को मृत्यु

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो ।

बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो काट्ने गरेकाले धेरै दुर्घटना भएको प्रहरीको भनाई छ ।

मुम्बईमा दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्छन् । यो सङ्ख्या अत्यधिक धेरै भएकाले रेलमा धेरै भीड गराउने गरेको छ । मुम्बईको रेल सेवा उपनिवेशकालीन हो । रेल सञ्जाल अन्तर्गत हुने दुर्घटनाका कारण भारतमा औसतमा दैनिक दश जनाको मृत्यु हुने गरेको छ ।

उनीहरुमध्ये अधिकांशको रेलमा हुने भीडभाड र बाटो पार गर्ने क्रममा मृत्यु हुनेगरेको अधिकारीहरुले बताएका छन् ।
सरकारी तथ्यांक अनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दुर्घटनामा परी करिव ५० हजार जनाको मृत्यु भएको छ ।