गण्डकी प्रदेश

‘इञ्जिनीयरभन्दा पहिला महिला भनेर हेरिन्छ’

चिप्लेढुङ्गा । प्राविधिक शिक्षामा महिलाको उपस्थिति अझै पनि बढ्न नसक्नुका कारणबारे पोखरामा छलफल गरिएको छ । नेपाल इञ्जिनीयर्स एशोशियशन गण्डकी प्रदेशले ५७ औँ इञ्जिनीयरिङ दिवसका अवसरमा पोखरामा आयोजना गरेको ‘सेमिनार अन वुमन एन इञ्जिनियरिङ’ कार्यक्रममा सहभागीले यस क्षेत्रका चुनौती र अवसरको बारेमा आफ्ना कुरा खुलेर राखेका छन् ।

कार्यक्रममा सहभागीले इञ्जिनीयर भन्दा पहिला महिलाको आवरण नियालेर व्यवहार गर्ने परिपाटीले पेशाप्रति सम्मान हुन नसकेको धारणा राखेका थिए । पितृसत्तात्मका सामाजिक समाजमा एउटै काम र क्षमतामाथि पनि महिला भएकै कारण हुने विभेद् हिंसादेखि महिला भएकै कारण प्राप्त हुने अवसरका बारेमा समेत सहभागीले आफ्ना अनुभव राखेका थिए ।

इञ्जिनीयरका अनुसार पहारीले यस क्षेत्रमा महिलालाई चुनौती भए पनि अवसर धेरै रहेको धारणा राखे। अझै पनि धेरै छोरी यस क्षेत्रमा पढ्न चाहे पनि सामाजिक आर्थिक कारणले आउन नसकेको उहाँको भनाइ थियो । इलेक्ट्रिकल इञ्जिनीयर दीक्षा शर्माले सामाजिक सुरक्षा र आर्थिक पक्ष पहिलो शर्त हुने गरेको भनाइ राखे । समस्याका चाङ धेरै रहेका तर त्यो राख्ने उचित ठाउँ नभएकाले यस क्षेत्रमा महिला झनै समस्यामा हुने गरेका उनको भनाइ थियो ।

कार्यक्रमा डा सुमित्रा अमात्यले इञ्जिनीयरिङ क्षेत्रमा चुनौती र अवसर, जुन डङ्गोल हाडाले वर्तमान समयमा साइन्स टेक्नोलोजी, इञ्जिनीयरिङ र म्याथम्याटिक्समा महिलाको अवस्था र पत्रकार बबिता बस्नेतले व्यावसायिक महिलाका चुनौती र त्यसबाट हासिल हुने अवसरका विषयमा प्रस्तुति राखेका थिए ।

सहभागीको जिज्ञासा र प्रदेश सरकारको नीतिबारे बोल्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले अभिभावकले छोरीमा लगानी गर्न अझै पनि सकारात्मक हुन नसक्दा प्राविधिक क्षेत्रमा महिलाको उपस्थित सोचे जसरी बढ्न नसकेको बताए । परिवारबाटै छोरा र छोरीबीचमा गरिने विभेद्को असर शिक्षामा प्रत्यक्ष देखिएको भन्दै छोराको साहाराबिना बाँच्न सक्दिन भन्ने सोच बदल्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला इञ्जिनीयरको समस्या समाधानका लागि महानगरपालिका सधैँ तयार रहेको बताए । नेपाल इञ्जिनीयर्स एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले प्राविधि विषय भनेको जीवन जीउनाले कला भएकाले यसलाई जीवनसँग जोडेर सरलीकृत गराउनुपर्ने धारणा राखे। प्रत्येक नौ जनामा एकजना मात्रै महिला इञ्जिनीयर हुने गरेको तथ्याङ्क राख्दै नेपालमा इञ्जिनीयर्स एशोसियशनमा जम्मा ७।३८ प्रतिशत मात्रै व्यावसायिक महिला इञ्जिनीयर्स आवद्ध रहेका उनले बताए। (तस्बिर उपलब्ध छ)