बाग्मती

सडकमुनि बिछ्याइएका खानेपानीका डेढ सयवर्ष पुराना पाइपले काम अवरुद्ध

काठमाडौँ । निर्माणाधीन चावहिल–साँखु सडकमा चुच्चेपाटी क्षेत्रमा सडकमुनि बिच्छ्याइएका पाइपका कारण समस्या आइरहेको छ । यस क्षेत्रमा दुई वर्षमा दुई पटकसम्म कालोपत्र गरे पनि भत्किरहेको छ । यस स्थानमा खानेपानीका झण्डै डेढ सयवर्ष पुराना पाइप बिच्छ्याइएको हुँदा पटक।पटक समस्या आइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

चुच्चेपाटीमा पासाङल्हामु शेर्पाको सालिक आसपास झण्डै १५० मिटर क्षेत्रमा यस्तो समस्या रहेको छ । पाइपकै कारण सडकमा जति पटक कालोपत्र गर्दा पनि उप्किरहेको आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए । मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएपछि एक पटक र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा गरेर यस सडक दुई वर्षमा दुई पटक कालोपत्र गरिएको उनले बताए।

सडकमा अन्यत्र काम भइरहे पनि यस खण्डमा पाइपकै कारण काम हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यले शुरु भए पनि सडक क्षेत्रका स्थानीयवासीको अवरोधका कारण काममा ढिलाई भइरहेको छ । आयोजनाले अहिले उपलब्ध चौडाइमा सडक निर्माणको काम गरिरहेको छ । काठमाडौँ जिल्लामा पाँच, ललितपुरमा पाँच र भक्तपुरमा एक सडक विस्तार चार वर्ष पहिले शुरु भएकोमा अहिलेसम्म सम्पन्न भइसकेको छैन ।