आर्थिक

प्रभु बैंकको बीर अस्पतालमा २४ घण्टे क्यास काउण्टर

काठमाण्डौ । प्रभु बैंक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालविच सम्पन्न सम्झौता बमोजिम आज मितिदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पतालको परिसरमा प्रभु बैंकको बैंकिङ्ग सेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहका विच आजै अपरान्ह ३ः०० बजे उक्त २४ घण्टे क्यास काउण्टरको समुद्घाटन गरेका हुन् ।

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् । प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अब देखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आफ्नो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउनेछन् ।

बीर अस्पतालको आधिकारिक बैंकको रुपमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित उपचार सेवामा सहयोगीको रुपमा संलग्न हुन पाउँदा प्रभु बैंक सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्दै समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको प्रभु बैंकले स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य योगदानका लागि सदा सर्वदा प्रयासरत रहने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।