आर्थिक

निर्माण कार्य शुरु भएको वर्षौं बित्दा पनि बन्न सकेन सातनाली पक्की पुल

डोटी । निर्माण कार्य शुरु गरेको वर्षौं बितिसक्दासमेत डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बाण्डुङ्ग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो । तर पुलको निर्माण कार्य १० प्रतिशत पनि नभएको स्थानीयको आरोप छ । यसअघि पनि सुस्त गतिमा भएको निर्माण कार्य लामो समयदेखि पूर्णरुपमा रोकिएको छ । रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लम्बाइको उक्त पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर थप एक वर्ष तीन महीना बितिसक्दासमेत पुलका दायाँबायाँ पिल्लरसमेत बनेका छैनन् । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक अलपत्र परेको छ । पुल नभएका कारण उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीय रामबहादुर धाँमीले बताए ।

उनले भने, “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु, काटेको सडक गाडी नचल्दा दिनहुँ बिग्रिँन र भत्किन थालेको छ ।” पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीसँग बुझ्दा उनले पुलको फाउण्डेसनमा समस्या भएको जानकारी दिए ।

पुल निर्माण व्यवसायी कम्पनीले अबको एक सातामा काम शुरु गर्ने कुरामा स्थानीयवासी विश्वस्त हुन सकेका छैनन् । पहिलो पटकको सम्झौता ठेक्का अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । पुनः म्याद थपिए पनि काम शुरु भएको छैन । यति हुँदा पनि निर्माण व्यवसायी कम्पनीलाई कारवाही भने भएको छैन । निर्माण व्यवसायी कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख भएका छन् । उहाँलाई कुनै कारवाही नहुँदा यहाँका काम लथालिङ्ग अवस्थामा पुगेको स्थानीयको आरोप छ ।