लुम्बिनी

पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण

बेझाड । पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ६५२ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो ।

भूकम्पले क्षति पु¥याएका चार हजार ६५२ घरधुरीमध्ये चार हजार २२६ घरपरिवारले पहिलो किस्ता र दुई हजार ११६ दोस्रो किस्ता र एक हजार २७५ घरपरिवारले तेस्रो किस्ताको रकम लिइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइका प्रमुख प्रेमनारायण बस्यालले जानकारी दिए।

सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको उनले जानकारी दिए ।

उहाँका अनुसार आव २०७५।०७६ मा लाभग्राहीको सूचीमा परेकाका लागि रु ३२ करोड ५६ लाख ३८ हजार प्राप्त भएकामा रु २९ करोड ७१ लाख खर्च भएको छ । अनुदानतर्फ ९१ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

त्यस्तै पूँजीगततर्फ रु २२ करोड ६५ लाख ९६ हजार प्राप्त भएको बजेटमा रु १७ करोड ८४ लाख २२ हजार खर्च भएको छ । जसमा ७८ दशमलव ७५ प्रतिशत प्रगति भएको उहाँले जानकारी दिए ।

आव २०७५।०७६ मा २१ वटा विद्यालय भवन निर्माण भएको छ । तीन कोठे चार वटा र दुई कोठे १७ वटा भूकम्प प्रभावित भवन निर्माण भएको हो । चार कोठे १५ वटा क्रमागत (दुई वर्षमा सम्पन्न हुने) भवन भने निर्माण भइरहेको छ ।

आगामी वर्षका लागि जिल्लामा ४८ वटा विद्यालय भवन र ४५ वटा शौचालय निर्माण गर्ने योजना रहेको जनाइएको छ । यसमा धेरै विद्यालयले सम्झौता गरी पेश्की रकम लिइसकेका छन् भने केही विद्यालयको सम्झौता गर्न ढिलो भएकाले पेश्की उपलब्ध गराउन बाँकी छ । नयाँ थप भएका ४८ वटा विद्यालयअन्तर्गत दुई कोठे २० वटा, तीन कोठे चार वटा, चार कोठे २४ वटा छन् ।