देश

छाउपडी अन्त्यका लागि कानून बनाउन माग

वीरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् ।

युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना गरेको ‘जनतासँग सभामुख’ कार्यक्रममा स्थानीय नागरिकले सामाजिक कुप्रथाले नराम्रोसँग जरा गाडेकाले यसको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए ।

सभामुख शाहीले छाउपडीलगायतका महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानून निर्माणमा भूमिका खेल्ने बताए ।

जनज्योति विद्यालयमा अध्ययनरत मेनुका थापाले सुर्तीजन्य पदार्थहरुको खुल्लमखुल्ला बिक्री भइरहेको बताउँदै यसको नियन्त्रणका लागि प्रदेशसभाले कस्तो कानून ल्याउँदैछ भनेर प्रश्न गर्नुभयो । सभामुख शाहीले स्थानीय सरकार आफैँले मदिराजन्य र सुर्तीजन्य पदार्थहरु नियन्त्रणको कानून बनाउन सक्ने भएकाले स्थानीय सरकार यसतर्फ अग्रसर हुनुपर्ने बताए ।

उनले कर्णालीका केही स्थानीय तहहरुले मदिरा र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिसकेको बताउँदै जनता जागरुक भएमा कानून कार्यान्वयन गर्न सकिने विचार राखे । सभामुख शाहीले प्रदेशसभाले कानून बनाउने प्रक्रियाको नेतृत्व गर्नाका साथै सरकारलाई जनउत्तरदायी बनाउनका लागि नेतृत्वदायी भूमिका खेलिरहेको बताए ।

कर्णाली फाउण्डेशनका अध्यक्ष नारायण भट्टराईले कानून निर्माणका साथै सरकार र संसद्मा जनताको पहुँच बढाउनका लागि कार्यक्रमको शुरुआत गरिएको बताए ।