प्रदेश 2

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लहान । सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत उमेश कर्णले जानकारी दिए ।

बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका स्थानीय ३०० बाढीपीडितको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

यसैगरी जिल्लाको कर्जन्हा गाउँपालिका, लहान नगरपालिकाको विभिन्न वडालाई लक्षित गरी बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको अधिकृत कर्णको भनाइ छ । शिविरमा दुषित पानी, खाना तथा वातावरणका कारण हुने कमलपित्त, झाडापखाला, ज्वरो, रुघाखोकी, वान्ता आउने, रिङ्गटा लाग्नेजस्ता रोगको परीक्षण र निःशुल्क औषधिको समेत प्रबन्ध मिलाइएको उनले बताए।

बेलिब्रिज निर्माणपछि आवागमन सञ्चालन

अबिरल वर्षाले कटान गरेको पुलमा सशस्त्र प्रहरीले बेलिब्रिज ९अस्थायी पुल० निर्माण गरेपछि विगत पाँच दिनदेखि अवरुद्ध सिरहाको सुखीपुर–बरियारपट्टी सडक सञ्चालन भएको छ । सिरहाको सुखीपुर–बरियारपट्टी सडक जोड्ने पुलको किनारामा बाढीले कटान गरेपछि गत असार २९ गतेदेखि उक्त सडकमा आवागमन ठप्प भएको थियो ।

पुलको किनारामा कटान गर्दा सडक सञ्जाल नै टुटेपछि बेलिब्रिज निर्माण गरी आवागमनलाई सहज बनाइएको सशस्त्र बेसक्याम्प बरियारपट्टीका प्रहरी निरीक्षक दीपक कोइरालाले जानकारी दिए। सशस्त्र प्रहरीले पुलमा बेलिब्रिज निर्माण भएपछि सवारीसाधन सञ्चालन भएको स्थानीयवासीले बताएका छन् ।