खेलकुद

नेपाली क्रिकेट माथिको निलम्बन कायमैःजिम्बावे पनि निलम्बनमा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन कायम राखेको छ ।
इंग्ल्याण्डको लण्डनमा बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले क्यान निलम्बनबारे कुनै निर्णय गरेको छैन । लण्डनको बैठकमा क्यान निलम्बनबारे छलफल हुने अनुमान गरिएको थियो । तर, बैठकले क्यानबारे कुनै निर्णय नगर्दा निलम्बन यथावत रहेको हो ।

तर, आईसीसीको बैठकले जिम्बावे क्रिकेटलाई भने प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

आईसीसीको प्रतिबन्धमा रहेपनि नेपाली क्रिकेट टिमले भने अन्तराष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छ । नेपाली टोलीलाई आईसीसीले नै हेरिरहेको छ । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई बिस २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो ।

यस्तै क्यान विवाद समाधानको लागि आईसीसीले मोनिटरिङ कमिटि समेत गठन गरेको थियो । उक्त कमिटिले अहिले जिल्ला निर्वाचन लगायतको काम गरिरहेको छ ।

यसैबीच आईसीसी ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

लण्डनमा बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई निलम्बन गर्ने निर्णय गरेको हो । आईसीसीले जिम्बावे क्रिकेटको निर्वाचन लोकतान्त्रिक पद्दतिबाट नभएको र सरकारी हस्तक्षेप भएको जनाएको छ।