समाचार

छ सय वढि मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकीः सरकार गम्भिर बनेन

काठमाडौं । विसं २०५७ मा मुक्त भएका छ सय ४७ मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकी रहेको छ । कमैया मुक्ति घोषणा पश्चात कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ जिल्लाका २७ हजार ५०५ मुक्त कमैया मुक्त घोषणा भएका थिए ।

तीमध्ये २६ हजार ८५८ कमैया पुनःस्थापना भएका छन् । छ सय ४७ मुक्त कमैयाको पुनःस्थापना हुन नसकेको मुक्त कमैया बड्घर सञ्जाल टीकापुरका अध्यक्ष रामफल चौधरीले बताएका छन । चौधरीका अनुसार कैलालीमा आठ हजार ९१० मध्ये आठ हजार ५३० कमैयाको पुनःस्थापना भएको छ । अझै ३८० को पुनःस्थापना हुन बाँकी छ ।

तर सरकाले यो विषयमा खासै चासो नदिएको देखिन्छ । मुलुकमा विभिन्न सरकारका निमार्ण भैसक्दा पनि मुक्त कमैयालाई व्यवस्थि तगर्ने तर्फ कसैको नजर पर्न सकेन ।  कमैया मु्क्ति दिवसको अवसरमा बिहीबार टीकापुरमा भएको कार्यक्रममा चौधरीले कमैयाका थुप्रै खाले समस्या रहेकाले स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन ।

उनले अधिकांश मुक्त कमैया रोजगारीका लागि भारत जान थालेको बताउँदै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरिनुपर्ने माग गरेका छन । मुक्त कमैया बलराम चौधरीले मुक्त कमैया घोषणा भएको धेरै लामो समय बितिसक्दा पनि यसको समस्या समाधान पूर्णरूपमा नभएको बताएका छन ।

उनका अनुसार कमैयाका छोराछोरीलाई प्राविधिक शिक्षाजस्ता कुरामा सरकारले छात्रवृत्तिको व्यवस्था नगरेसम्म शिक्षामा पहुँच वृद्धि हुन कठिन छ । अधिकांश मुक्त कमैयाले मुक्त भए पनि रोजगारीजस्ता अवसर नपाउँदा कमैयाका छोराछोरीले बीचमै विद्यालय छाडेर कमाउनका लागि भारत जानुपर्ने बाध्यता रहेको बताए ।

मुक्त कमैया समाजकी सुदेश्नी चौधरीले अहिले पनि धेरै किशोरीले १० कक्षासम्म पढ्न नपाएको बताउछीन । उनका अनुसार कमैया दम्पतीलाई नियमित आम्दानी हुने कामको व्यवस्था सरकारले गरिदिनुपर्छ । बड्घर कलवीर चौधरीले मुक्त कमैया पुनःस्थापनाका सवालमा सबै गम्भीर बन्नुपर्ने बताएका छन ।

मुक्त कमैयाले पुनःस्थापना हुन बाँकी रहेका प्रत्येक मुक्त कमैयालाई प्रतिपरिवार पाँच कठ्ठाका दरले हाल बसिरहेकै स्थानमा जग्गाको नापनक्सा गरी लालपुर्जा दिनुपर्ने, मुक्त कमैया परिवारलाई स्वास्थ्य, शिक्षा, सीप, दक्षताअनुसार रोजगारी र सुरक्षित आवासको प्रत्याभूति गर्नुपर्ने, मुक्त कमैयासँग भएको सम्पूर्ण सम्झौता र निर्णयहरू तत्काल कार्यान्वयन हुनुपर्ने लगायतका माग गरेका छन् ।

टीकापुर नगरपालिका मेयर तपेन्द्रबहादुर रावलले भूमि व्यवस्थापनको समस्या, रोजगारी, मुक्त कमैयाका छोराछोरीको शिक्षामा देखिएका समस्या समाधानका लागि स्थानीय सरकार तत्पर रहेको बताएका छन । मेयर रावलले मुक्त कमैया, विपन्न समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिलमा सघाउन नगरपालिकाले मेयर छात्रवृत्तिका लागि रकम छुट्याएको बताएका छन ।

टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले मुक्त कमैयाको समस्या समाधानमा नगरपालिका सधैँ सकारात्मक रहेको बताए । विसं २०५७ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका पालामा मुक्त कमैया घोषणा गरिएको थियो ।