समाचार

बौद्ध विहारको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा रहेका बौद्ध विहारको संरक्षण र सम्बद्र्धनका साथै सरसफाइ तथा हरियालीका साथ स्वच्छ वातावरण निर्माणमा ध्यान दिन आग्रह गरेकी छिन ।

नेपाल बज्रयान महाविहार सञ्चालन समितिको व्यवस्थापनमा महाविहारका पदाधिकारीलगायत काठमाडौँ उपत्यकाका महास्थविर र स्थविरसँग राष्ट्रपति कार्यालयमा बिहिबार भएको भेटमा उनले गुठीको संरक्षण तथा सम्बद्र्धन गर्न सरकारले सरोकार पक्षसँग छलफल गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेकि हुन ।

उपत्यकाका अमूल्य निधि सांस्कृतिक सम्पदाको संरक्षण तथा संबद्र्धनमा गुठीहरुले पुर्याएको भूमिकाको पनि राष्ट्रपतिले सराहना गर्नुभएको भेटमा संलग्न महाविहारका धर्मगुरु प्रा डा नरेशमान बज्राचार्यले जानकारी दिएका छन ।

राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मभूमि नेपालमा दिगो शान्ति, स्थिरता र आर्थिक समृद्धि कायम गर्न बौद्ध धर्मगुरुहरुले पुर्याएको योगदानको कदर गर्दै निरन्तरता कायम रहोस् भन्ने कामना पनि गरेकि थिईन । भेटमा महाविहारका धर्मगुरु प्रा डा बज्राचार्यले नेपाल परम्परागत बौद्धधर्म सङ्घको तत्वावधानमा लुम्बिनीमा निर्माणाधीन नेपाल बज्रयान महाविहारका बारेमा जानकारी दिनुभएको थियो ।

नेपालको मौलिक संस्कृत झल्किने उक्त महाविहार ३६२ वर्षपछि नेपालमा निर्माण हुन लागेको हो । त्यस्ता विहार राजा प्रताप मल्लको पालापछि पहिलो पटक निर्माण हुुन लागेको प्रा डा बज्राचार्यले बताएका छन । सो महाविहार निर्माणमा नेपालका मौलिक प्रस्तरकला, काष्ठकला, इँटाकलालगायत प्रयोग गरिएको छ ।