समाचार

लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शनः आरक्षण सुनिश्चितको माग

काठमाडौं । लोक सेवा आयोगले पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने माग गर्दै बिहिबार अनामनगरस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

आयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेकाले रद्द गर्नुपर्ने माग गर्दै दुईघण्टा प्रदर्शन गरिएको हो । प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलगायतका समुदायको सहभागी रहेको थियो

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।

सो विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाले विरोध गर्दै आएका छन् । उनीहरुले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनः प्रकाशित गर्नुपर्नेसमेत माग गरेका छन् ।

सोही अवसरमा दलित अधिकरकर्मी भक्त विश्वकर्मा, सहेक विश्वकर्मा र विन्दु परियारलगायतले अझै पनि सरकारले उत्पीडित समुदायलाई राज्यको मूलधारबाट पछाडि पार्ने नियतले लोकसेवाको विज्ञापन प्रकाशन गरेको भन्दै तत्काल रद्द गरेर आरक्षणसहितको विज्ञापन प्रकाशन गर्नुपर्ने माग गरेका छन ।