आर्थिक

मेची भन्सारको राजश्व गतवर्षको तुलनामा १५ प्रतिशत लक्ष्य भन्दाकम

भद्रपुर । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ ।

भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताएका छन ।

भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताए । यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो ।

भन्सारले गत अघिल्लो वर्ष २०७४÷७५ को तुलनामा भने राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार अघिल्लो वर्षको लक्ष्य नौ अर्ब २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने रु नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो ।