अन्तर्राष्ट्रिय

चिनियाँ विभिन्न क्याम्पसहरुमा सूचना प्रविधि (आइटी) सम्बन्धी विषय लोकप्रिय

छेन्दु । चिनियाँ विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा सूचना प्रविधि (आइटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ । पछिल्लो पाँच बर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन सजिलो भएपछि यसको लोकप्रियता बढेको एक अध्ययनले देखाएको हो ।

चीनको एउटा मुख्य बजार परामर्शदाता कम्पनी माईकोसले गरेको अध्ययनको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको थियो । सन् २०१४ देखि २०१८ सम्ममा सूचना प्रविधिको क्षेत्रमा लाग्ने कलेजहरूको सङ्ख्या पनि अत्यधिक बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सूचना प्रविधिको अध्ययन गरेकामध्ये ८.५ प्रतिशतले इन्टरनेट कम्पनीमा रोजगारी पाएका छन् । व्यवसायीक अध्ययनका लागि पनि सूचना प्रविधिसम्वन्धी विषय धेरै विद्यार्थीको आकर्षणको विषय बनेको छ । सूचना प्रविधिको अध्ययन गरेका विद्यार्थीमध्ये सन् २०१४ मा १.२ प्रतिशतले रोजगारी पाएकोमा सन् २०१८ मा त्यो सङ्ख्या बढेर ४.९ प्रतिशत पुगेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले इन्टरनेट सेवा, अनलाइन खोजी, तथ्याङ्क प्रशोधनलगायतका क्षेत्रमा रोजगारी पाउने गरेका छन् । बढ्दो क्रममा रहेको यस सूचना प्रविधि उद्योगमा काम गर्नेहरुलाई सेवा सुविधा पनि धेरै रहेको पाइएको छ ।

यस क्षेत्रमा काम गर्नेहरुको आम्दानी अन्य क्षेत्रमा काम गर्नेको भन्दा औसतमा २० प्रतिशत बढी रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।