खेलकुद

नेपाली अण्डर–१६ फुटबलरलाई ब्राइट फ्युचरको छात्रवृति

काठमाडौं । नेपाली अण्डर–१६ राष्ट्रिय फुटबल टिमका १० खेलाडीलाई ब्राइट फ्युचर कलेजले प्लस टु अध्ययनको लागि छात्रवृति प्रदान गरेको छ । ब्राइट फ्युचरले अण्डर–१६ नेपाली टोलीका कप्तान प्रदिप लम्सालसहित १० खेलाडीलाई ११ र १२ कक्षाको लागि पूर्ण छात्रवृति प्रदान गरेको हो ।

पूर्ण छात्रवृति पाउने अन्य खेलाडीमा शसांक बोहरा, रोशन थापा, निरन्जन मल्ल, प्रमिश गुरुङ, मल्दिना अन्ग्थुपो, टोप बहादुर रत्न, निशान्त रावल, पुकार खड्का र निरज चौधरी रहेका छन् । छात्रवृति पाउने सबै खेलाडी एन्फा एकेडमीका खेलाडी हुन् ।

कलेजले बिहिबार खेलाडीसँग छात्रवृति सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतासँगै कलेजले सहभागिता जनाउने फुटबल प्रतियोगितामा खेलाडीहरुले कलेजको लागि खेल्नु पर्ने हुन्छ । यस्तै ब्राइट फ्युचरले कलेजको स्पोर्ट्स डाइरेक्टरमा पूर्व राष्ट्रिय टोलीका गोलकिपर प्रशिक्षक नबिन महर्जनलाई नियुक्त गरेको छ ।