कृषि

महोत्तरीमा साउन लागेपछि बल्ल रोपाइँ

बर्दिवास । साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी सुक्दै गएपछि खेत खनजोत र रोपाइँ शुरु भएको हो ।

जिल्लाका उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्ति पर्वसँगै सघन रोपाइँ शुरु भएको छ । असारको चौथो साताको प्रारम्भसम्म खेतको माटो गालेर पानी नपर्दा यहाँको रोपाइँ पछि परेको हो । असार निगल्दो अविरल परेको पानीको डुबान कम भएर खेत खनजोत गर्न सकिने भएपछि बल्ल रोपाइँ शुरु गरिएको भङ्गाहा–५ राजपुरका किसान लक्ष्मण महतोले बताए ।

“जेठ मध्यताका राखेको धुले बीउ ब्याडमै खडेरीले खायो, असार मध्यताका परेको पानीमा राखेको बीउ भर्खर तयार भएकाले पछिल्लो वर्षापछि बल्ल धान रोप्न थालेका हौँ”, महतोले भने, “बीउको ब्याड पनि पछिल्लो पानीले डुबाएर गलाएकाले सबै खेत रोप्न सकिने छाँट छैन ।” यद्यपि अहिले राम्ररी बीउ रोप्न सकिए २२ दिनपछि खरुवन कलम, अहिले रोपेको गाँजिएपछि त्यही उखेलेर रोप्ने बाट बाँकी खेत रोपिने महतोको आश छ ।

जिल्लाको उत्तरी क्षेत्रमा भिरालो जग्गा भएकाले डुबानको पानी चाँडै बगेर नगरपालिका क्षेत्रमा जाँदा अहिले सघन रोपाइँ भएको देखिँदैछ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अझै खेतका ग¥हा नदेखिनेगरी पानी डम्म नै भएकाले रोपाइँको अहिले सुरसार नै नभएको रामगोपालपुर नगरपालिका–७ का किसान इब्राहिम राइनले बताए ।

जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा बाँकी छ नगरपालिका र पाँच गाउँपालिका क्षेत्रमा बीउ जोगिएको होला भन्ने किसानले सोचेका छैनन् । “शुरुमा खडेरीले बीउ खायो, अहिले केही नदेखिने गरी खेतमा डम्म पानी भरिएको छ, बीउ गली सकेको होला” एकडारा गाउँपालिकाको भटौलिया गाउँका किसान जानकीशरण मण्डलले दिक्दारिँदै भने, “हामी किसानका दिन कहिल्यै फिर्ने भएनन् ।” आकासे पानीको भरमा खेती गर्नुपर्दा कहिल्यै ठीक समयमा खेती लगाउन नपाइएको मण्डलको गुनासो छ । मण्डलले भने, “नदी त बस्ती नै पिच्छे छन् नि तर, सिँचाइका लागि नभएर बर्खामा घरखेत बगाउन ।”

जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ८५३ हेक्टरमध्ये ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाहीले जनाएको छ । यसपालि भने बीउ रोपाइँ सकिएको हुनपर्ने असार मसान्तसम्म सिञ्चित क्षेत्र नहर र कुलोको पानी लाग्ने मा मात्र १० प्रतिशत रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सर्लाहीको महोत्तरीस्थित सम्पर्क कार्यालयका अन्नबाली प्राविधिक रामकैलाश साहले बताए ।

जिल्लामा अहिलेसम्म नहर र कुलोको पानी लाग्ने सिञ्चित क्षेत्र चार हजार ७९५ हेक्टर मात्र छ । बाँकी अन्य जग्गा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले किसानले ठीक समयमा खेती लगाउन नपाएका कृषि ज्ञान केन्द्रका कृषि विज्ञ पनि स्वीकार गर्छन् ।

जिल्लाकै मुख्य बाली मानिएको धान खेती लगाउन नपाएपछि यसपाली अन्नको सङ्कट पर्ने चिन्ताले किसानलाई पिरोलेको छ । अब त तीनै तहमा स्थायी सरकार सङ्घ, प्रदेश र स्थानीयतह भएपछि आफूहरुका दुःखका दिन सकिएर राम्रो खेती गर्न पाउने आश पनि मर्दै गएको किसानले बताएका छन् ।