पर्यटन/संस्कृति

‘सोचेको फल प्राप्त गर्न मक्कामदिना’

काठमाडौँ । अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवत्र्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्कामदिना जाँदा पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिए ।

उक्त पवित्र तीर्थस्थल जाने पहिलेदेखिको इच्छा पूरा हुन लागेकामा उहाँहरु निकै खुशी देखिए। “इस्लाम धर्मका जन्मदाता पैगम्बरको ठाउँमा गएर नमाज पढ्न र कुर्वानी ९बलि० दिन पाउने भएपछि खुशी लागेको छ”, कदमहिमले भनै, “त्यहाँ गएर आफूले सोचको फल प्राप्त हुनाका साथै मनमा शान्ति मिल्छ ।”

नेपाल सरकार र नेपाल हज समितिको सहयोगमा उनीहरू जस्तै १५६ जना त्यसतर्फ गएका छन् । मक्का पैगम्बरको जन्मस्थल हो भने मदिना उहाँको समाधिस्थल हो । मुसलमान समुदायले ती ठाउँमा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास छ । जीवनको महत्वपूर्ण इच्छा मक्कामदिना गएर पूरा हुने बताउँदै काठमाडौँ जोरपाटीका मोहम्मुव अलिखानले यसअघि कुनै पाप गरिएको रहेछ भने त्यो कटाउनका लागि पनि आफू त्यहाँ जान लागेको जानकारी दिए। “मक्कामदिनामा गएर आफू शुद्ध भइन्छ । जसरी आमाको पेटबाट पहिलोपटक बच्चा जन्मिँदा शुद्ध हुन्छ मक्कामदिनामा गएपछि त्यसरी नै शुद्ध भइन्छ”, उहाँले भनै ।

उनीहरुजस्तै यस वर्ष पनि विश्वभरका ५० लाख इस्लाम धर्मालवम्बी हज गर्नका लागि मक्कामदिना जाँदैछन् । हज समितिका सदस्य मोहम्मद इद्रिस मियाँले यही साउन २३ गतेदेखि हज शुरु हुने बताए। हजयात्रीले मक्कामा रहेको ‘कावा सरिफ’मा पाँच दिन हज हरी कुर्वानी दिने गर्छन् । धेरै मानिस आउने हुँदा व्यवस्थापन गर्न समस्या हुने भएकाले पहिल्यै हजयात्रीहरु मक्कामदिनातर्फ जाने गरेको उनको भनाइ थियो ।

साउन २३ गतेदेखि पाँच दिनसम्म प्रत्येक हजयात्रीले खसी, बोका, भेडालगायत पशुलाई कुर्वानी दिन्छन् र त्यसपछि ४५० किलोमिटर टाढा मदिनामा १० दिनका लागि हजयात्री जाने गर्छन् । त्यहाँ रहँदा हजयात्रीले नमाज पढ्छन् । दिनको पाँच पटकका दरले आठ दिनसम्म ४० पटक नमाज पढ्ने गरेको हज समितिका सदस्य मियाँले बताए ।

यसैगरी रुपन्देहीका मनोवर हुसेन तेस्रोपटक मक्कामदिना जादैछन् । यसअघि दुईपटक पुगेर आइसक्नुभएका हुसेनले त्यहाँ पुगेर नमाज पढ्दा आफूले सोचेको पुगेको बताए । “मक्कामदिनामा अल्लाहलाई ध्यान गरेर बस्यौँ भने मनमा शान्ति हुन्छ”, उनले भने, “त्यहाँ पुगेर नमाज पढियो भने जति पाप गरेको छ, त्यो सबै माफ हुन्छ ।” एक तीर्थ यात्रीलाई रु दुई लाख ३० हजार दिनाका साथै नेपाल हज समितिले सम्पूर्ण खर्चको व्यवस्थापन गर्दै आएको छ ।

हज समितिका अध्यक्ष शमशेर मियाँले हजयात्रीको सहजताका लागि आफूहरुले सम्पूर्ण व्यवस्थापन गर्दै आएको बताए । उनले मक्कामदिनामा रहँदा खाने, बस्ने र यात्रा गर्ने सबै व्यवस्था हज समितिले नै गर्ने जानकारी दिए ।

उनका अनुसार यस वर्ष नेपालबाट एक हजार २६० हजयात्री मक्कामदिना जानेछन् । हजयात्री ४२ दिनसम्म त्यहाँ रहनेछन् । हजयात्रीलाई बिदाइ गर्न गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र शहरी विकासमन्त्री मोहम्मदइस्तियाक राई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

सोही अवसरमा गृहमन्त्री थापाले ३०० नेपाली हजयात्रीलाई व्यवस्थापन गर्नका लागि त्यहाँको सरकारसँग अनुरोध गरिएको जानकारी दिए । साउन ९ गतेसम्म सबै हजयात्रीलाई मक्कामदिना पठाइने अध्यक्ष मियाँको भनाइ थियो ।
–––