उर्जा

नवलपरासीमा भूकम्प प्रभावीत आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न

कावासोती । भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम नवलपरासी पूर्वमा ८२ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्ममा निजी आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजेन्द्र कार्कीले बताए ।

वलपुरमा भूकम्पका कारण ८५२ घरमा क्षति पुगेको थियो । तीमध्ये ६९५ ले घर निर्माणको काम सकेको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न गर्ने ६९५ ले तेस्रो किस्ताको रकम बुझेका छन् । दोस्रो किस्ताको अनुदान रकम बुझ्नेको सङ्ख्या भने ९४ प्रतिशतको हाराहारीमा रहेको उनले बताए ।

पहिलो चरणको पुनःनिर्माणको काम अब चाँडै सम्पन्न हुने प्रमुख कार्कीले बताएका छन । नवलपुरमा गुनासो दर्ता गर्नेको सङ्ख्या दुई हजार २४० रहेको छ । गुनासो दर्ता गर्नेको सर्वेक्षणको काम शतप्रतिशत सम्पन्न भएको प्रमुख कार्कीले बताएका छन । उनका अनुसार गुनासो दर्ता गर्नेमध्येबाट पाँच जनाको प्रबलीकरणका लागि नाम थप भएको छ ।

पाँच जनाले दोस्रो चरणको पुनःनिर्माणअन्तर्गत पहिलो किस्तावापतको रकमसमेत बुझिसकेका छन् । यस्तै विद्यालय पुनःनिर्माणतर्फ पहिलो चरणमा ३१ विद्यालय निर्माणको काम सकिएको छ । चार विद्यालय निर्माणको काम अन्तिम चरणमा रहेको छ । दोस्रो चरणमा थप ३७ विद्यालयसँग निर्माण सम्झौता भएको छ ।

जसअन्तर्गत सबै विद्यालयको पुनःनिर्माणको काम जारी रहेको कार्यालय प्रमुख कार्कीले बताएका छन । विद्यालय भवन पुनःनिर्माणको काम सकिएका तीन विद्यालयमा शौचालय निर्माणको कामसमेत चलिरहेको प्रमुख कार्कीले बताएका । विद्यालयमा दुई, तीन र चार कोठाका दरले भवन निर्माण गरिएको छ ।