खेलकुद

विश्वकप फुटबलको छनोटमा नेपाल समुह बी’ माः नेपाल र अस्ट्रेलियाको एउटै समुह

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियाको राजधानी क्वालालम्पुरमा बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालसँगै बलियो अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत समूह ‘बी’ मा परेका हुन्।

एसियाका ४० वटा टोलीलाई आठवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा पाँच÷पाँच टोली छन् । दोस्रो चरणको छनोट खेल आगामी सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म सञ्चालन हुनेछ । दोस्रो चरणको छनोट खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी कुल १२ टोली तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

यसैगरी तेस्रो चरणको छनोटमा स्थान बनाउने १२ वटै टोली सन् २०२३ को एसियन कपका लागि पनि स्वतः छनोट हुनेछन् । दोस्रो चरणको छनोटमा माल्दिभ्स, चीन, सिरिया, फिलिपिन्स र ग्वाम समूह ‘ए’ मा परेका छन् । इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया समूह ‘सी’ मा छन् भने साउदी अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर समूह ‘डी’ मा परेका छन् ।

यसैगरी बंगलादेश, ओमन, भारत, अफगानिस्तान र कतार समूह ‘ई’ मा परेका छन् भने जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र मंगोलिया समूह ‘एफ’ मा छन् । संयुक्त अरब इमिरेट्स (यूएई), भियतनाम, थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया समूह ‘जी’ तथा दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान र श्रीलंका समूह ‘एच’ मा परेका छन् ।