गण्डकी प्रदेश

प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश सरकारले सहयोग गर्ने बताउँदै समयसापेक्ष पूर्वाधारमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेका हुन । संविधानले व्यवस्था गरेअनुसार प्रहरी प्रदेशको मातहतमा आइसक्नुपर्ने भए पनि अझै सङ्घको मातहतमा नै रहेको उनको भनाई छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सानो सहयोगले पनि प्रभावकारी सुरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने बताएका छन । सीमित साधनस्रोत भए पनि प्रहरीले देश र जनताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले साधनस्रोत सम्पन्न बनाउन पनि आफूहरूले प्रयास गर्ने बताएका छन ।

प्रदेश प्रहरी कार्यालय प्रमुख घिमिरेले प्रहरीले साधनस्रोतको कमी हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी सफलताका साथ बहन गर्दै आएको जानकारी दिएका छन । प्राप्त सहयोगले सुरक्षाको प्रभावकारितामा टेवा पुग्ने उनको भनाइ थियो ।