प्रदेश 1

महानगरबाट खाना र स्वस्थ उपचार पाएका बाढीपीडित घर फर्कन थाले

बिराटनगर । लगातारको वर्षाले आएको बाढीका कारण विस्थापित भएकाहरु विस्तारै घर फर्किन थालेका छन् । विगत दुई दिनदेखि वर्षा हुन छाडेको र बाढीको पानी घटेपछि विराटनगर महानगरपालिकाका बाढीपीडितमध्ये अधिकांशले आफ्नो घर फर्कन थालेका हुन् ।

बाढीका कारण विराटनगर महानगरपालिकाको १९ वटा वडा आंशिकरुपमा डुबानमा परेको थियो भने वडा नं १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ सबैभन्दा धेरै डुबानमा परेको थियो । विराटनगर सीमा भएर बग्ने केशलिया र सिङ्घिया नदी तथा वर्षाको पानीको उचित निकास नहुँदा ती बस्तीमा पानी पसेपछी डुबानमा परेको थियो । बाढीले नगर क्षेत्रका पाँच हजारभन्दा बढी प्रभावित भएका थिए । पानी जमेका कारण विस्थापित बनेका केही पानी घटेपछि घर फर्के पनि खोलाको भङ्गालो पसेर घर भत्काइदिएका धेरै सर्वसाधारण अझै पनि नजिकका विद्यालयमा आश्रित छन् ।

बाढीबाट विस्थापित विराटनगर– १२ का ६० परिवार घर फर्किसकेका छन् भने २५ परिवार घर फर्कन अझै बाँकी रहेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए । बाढीबाट विस्थापित भएकालाई स्थानीय श्री बखरी आधारभूत विद्यालयमा आश्रित लिएका छन् । उनीहरुलाई त्यही खानपानको व्यवस्था मिलाइएको छ ।

महानगर–१२ का सोमनी ऋषिदेवको घर पनि डुबानमा परेकोले बखरी आधारभूत विद्यालयमा आफ्नो परिवारसहित बसेको छ । अब घर कहिले फर्कन भन्ने सोचमा उनी छन् । उनको कच्चीघरको अधिकांश भाग भत्केकाले घरमा भएका खाद्यान्न, लत्ताकपडा काम नलाग्ने हुनुका साथै घरहरु मर्मत बिना बस्न लायक नभएको उनको गुनासो छ ।

यस्तै सोही स्थानका सुकुना ऋषिदेवले आफ्नो घर भनेको आफ्नै हो भन्दै बाढीले सबै सामान काम नलाग्ने र छोराछोरीको किताबकपी पनि काम नलाग्ने अवस्थामा पुगेको बताए । सबै सामान नयाँ लिनुपर्छ तर त्यसका लागि आफूसँग रकम नभएको भनी उनले दुःख व्यक्त गरे ।

उनीहरु जस्तै धेरैले अहिले पनि विद्यालयमा आश्रय लिएर बसिरहेका छन् भने उनीहरुलाई महानगरले नै खाना र स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।
विगत दुई दिनदेखि मौसममा आएको सुधारले केही दिनभित्र सबैपीडित परिवार आफ्नो घर फर्कने महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगर वडा नं १, २, ४, ७, ८, १२, १५, १९ कटहरी गाउँपालिकाको वडा नं १, २ र ४ मा पीडितलाई २०० थान त्रिपाल वितरण गरेका कार्यालयका प्रमुख कुमारप्रसाद निरौलाले बताए ।