राजनीति

बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार तुम्बाहाम्फे, राई र मियालाई

काठमाण्डौ । विसं २०७५ को बिपी कोइराला प्रजातान्त्रिक सेनानी पुरस्कार प्रजातान्त्रिक आन्दोलनका तीन योद्धालाई प्रदान गर्ने घोषणा गरिएको छ । बिपी सङ्ग्रहालय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो ।
तुम्बाहाम्फे विसं २०१५ को पहिलो संसदीय निर्वाचनमा तेह्रथुमबाट निर्वाचित भएका थिए । उनी विसं २०१७ मा बिपीको नेतृत्वमा पुनःगठित नेपाली काङ्ग्रेस केन्द्रीय समितिको सदस्य भएका थिए उनी हालसम्म पनि म्याङलुङ नगरपालिकामा रहेर पार्टीमा क्रियाशील छन् ।

राईले विसं २०१७ साल पुस १ गतेको कूपछि भूमिगत एवं निर्वासित जीवन बिताइ प्रजातन्त्र पुनःस्थापनामा योगदान दिएका थिए । सुनसरीकै मियाँले २०१७ पुस १ गतेको घटनापछि पटक/पटक जेलजीवन बिताउनुका साथै प्रजातन्त्र पुनःस्थापनामा योगदान दिएको सङ्ग्रहालयका संरक्षक एवं संस्थापक अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी दिए ।

पुरस्कार ३८औँ बिपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते सङ्ग्रहालयका प्रमुख संरक्षक, पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रदान गर्नेछन् । पुरस्कारको राशि रु एक लाख नगद र सम्मानपत्र रहेको छ । भूकम्पले क्षति भई सङ्ग्रहालय पुनःनिर्माण जारी रहेकाले जोरपाटीस्थित एक पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा पुरस्कार दिइने उनले बताए ।

सङ्ग्रहालयले गत वर्ष शुरु गरेको ‘लोकतन्त्रका लागि बिपीवाद, बिपीवादका लागि दुम्जाबाट बनारससम्म हाम्रो अभियान’ अन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । सङ्ग्रहालयले विसं २०६९ देखि बिपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण शुरु गरेको हो । पहिलोपटक पञ्चायतकालमा मृत्युदण्ड दिइएका शहीद धनुषाका दुर्गानन्द झाकी श्रीमती काशीदेवी, ओखलढुङ्गाका क्याप्टेन यज्ञबहादुर थापाकी श्रीमती खड्गकुमारी र धनकुटाका भीमनारायण श्रेष्ठकी श्रीमती लक्ष्मीलाई प्रदान गरिएको थियो ।

यसैगरी विसं २०७० प्रजातन्त्र सेनानी अर्जुनकुमार ठाकुर, २०७१ सालमा रामहरि जोशी, २०७३ सालमा प्रदीप गिरीलाई प्रदान गरिएको थियो ।