समाचार

बाढी पहिरो प्रभावित क्षेत्रमा राहत वितरण/बेपत्ताको खोजी तीब्र गतीमाः नेपाली सेना

काठमाण्डौ । नेपाली सेनाले अविरल वर्षाका कारण बाढीपहिरो प्रभावित क्षेत्रको जनजीवन सामान्य अवस्थामा ल्याउन भगिरथ प्रयास गरिरहेको जनाएको छ ।

प्रभावित क्षेत्रमा सङ्गठन उपलब्ध उद्धारका सबै सामग्रीसहित खोज, उद्धार तथा राहत वितरणमा सकल दर्जाले सक्रियताका साथ काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रभावित क्षेत्रका खोलानालामा तटबन्ध, अस्थायी पुल निर्माण, रबर डुङ्गा सञ्चालन तथा अवरुद्ध भएका सडक सुचारु गर्ने कार्यमा फौज परिचालित भइरहेका जनाइएको छ ।

सेनाले रौतहटको गौर, ईश्नाथ, धनुषाको नगराईन, महोतरीको बलवा, मनरा नगरपालिका र साम्सी गाउँपालिका तथा डोल्पाको मुड्केचुला गाउँपालिकामा राहत वितरणको काम भइरहेको जनाइएको छ । महोतरीको पिपरा गाउँपालिकामा पानी जमेर सर्वसाधारणलाई आवतजावतमा समस्या खडा भएपछि रबर डुङ्गा सञ्चालन गरिएको तथा सिरहाको औरही गाउँपालिस्थित सुखीपुर जोड्ने पुल बाढीले बगाएपछि सेनाको सहयोगमा अस्थायी पुल निर्माण गरिएको जनाइएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको तथा अवरुद्ध मुख्य तथा सहायक सडक सञ्चालन गर्ने कार्यलाई सेनाले प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा खोज, उद्दार तथा राहत सामग्री ओसारपसार गर्न काठमाडौँमा एक, इटहरीमा एक र धनुषामा एक हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।