समाचार

मुहान बाढीले धमिलिएपछि महोत्तरीमा खानेपानीको सङ्कट

महोत्तरी । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

जिल्लाको सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको पानी बाढीले धमिलिएपछि घरघरमा जडान भएका धारामा लेदो धमिलो पानी झर्ने गरेको छ । पानी धमिलिएपछि अब कसरी खानेपानीको व्यवस्था गर्ने चिन्ताले गृहिणी पिरोलिएका छन् ।

“अब खानेपानी कसरी व्यवस्था गर्ने होला ?”, बर्दिवास–२ बुद्धचोककी गृहिणी मञ्जु परियारले दिक्दारिँदै भने, “हुनेखाने सम्पन्नता भएका जार र सिल बोतलका पानी (मिनरल वाटर) ल्याउँछन्, हामी गरीबले अब घाँटी भिजाउन पनि धमिलो पानीकै सहारा लिनुपर्ने भयो ।”

बर्दिवास १, २, ३ र १४ मा खानेपानीको आपूर्ति गर्दै आएको साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले मुहानमा बाढीले पानी धमिल्याएको हुँदा समस्या भएको स्वीकार गरेको छ । “के गरौँ जुन पानी सङ्कलन गरेका छौँ, त्यसको मुहान नै धमिलिएको छ”, संस्थाका अध्यक्ष भोला खड्काले भने, “मुहान सङ्ल्याउन प्रयत्न थालिए पनि लगातारको बाढीले पानी धमिल्याएको छ ।” मुहानमा पानी ल्याउन ओछ्याइएको पाइपको मुखमा छानेर शुद्ध पानी ल्याइने व्यवस्था मिलाइएको भए पनि बाढीले धमिल्याएको पानी नै पाइपमा आएपछि धारामा धमिलो पानी झरेको खड्काको भनाइ छ । अब वर्षा कम भएसँगै नदीको मुहान सङ्लिँदै गएको खड्काले बताए ।

यसबाहेक ४ र ५ वडाको माईस्थान, ८ को हाथीलेट तथा १० र ११ को खयरमारामा पनि खानेपानी सङ्कलन गरिने नदी र खोल्सीका मुहान धमिलिएको हुँदा स्वच्छ खानेपानी आपूर्तिमा समस्या परेको ती बस्तीका खानेपानी उपभोक्ता संस्थाले जनाएका छन् । यसबाहेक इनारबाट खानेपानी आपूर्ति हुँदै आएका बर्दिवास–६ र ७ को किसाननगर, ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरामा पनि बाढीको लेदो इनारभित्र पस्दा खानेपानीको समस्या परेको बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले स्वीकार गरे ।

“बाढी र डुबानको समस्याले खानेपानीमा समस्या आएको छ”, गौतमले भने, “तत्काल पानी तताएर निर्मलीकरण गर्न सबैले तत्परता देखाउन प¥यो, हामी यसको निदान खोज्न लागिपरेका छौँ ।” नगरपालिका कार्यालयले विभिन्न संस्थाको समन्वयमा घरघरमै पानी निर्मलीकरण गर्ने चक्की पु¥याउने तयारी गरेको गौतमको भनाइ छ ।

बर्दिवासका अतिरिक्त गौशाला र भङ्गाहा नगरपालिकामा पनि खानेपानीमा सङ्कट परेको छ । खानेपानीका धारा, इनार र चापाकल खानेपानीका स्रोत रहेका दुवै नगरपालिका क्षेत्रमा अहिले चापाकल चाहिँ बालुवा थुप्रिएर थुनिएका र इनारमा लेदो पसेर पानी धमिल्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । गौशाला नगरक्षेत्रमा जडान भएका खानेपानीका धारामा पनि मुहान धमिलिँदा लेदो पानी झर्ने गरेको गौशाला नपाको लक्ष्मीनियाँ बटुवा बस्तीका सूर्यनारायण महतोले बताए ।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा खानेपानीका लागि प्रयोग गरिने चापाकल र आर्टिजिन बोरिङको पानी नधमिलिए पनि धेरैजसो ठाउँमा अझै चापाकल र आर्टिजिन बोरिङको मुख डुबानमै रहेकाले समस्या भएको छ ।

बर्दिवासमा खानेपानीको सङ्कट बढेसँगै खानेपानीका जार र सिल पानीका बोतलको बिक्री ह्वात्तै बढेको छ । स्वास्थ्य सचेतना भएका र पानी किन्न रकम जुटाउन सक्नेले यस्तै पानी किनेर खानपिउन प्रयोग गरेका छन् । पानीको माग बढेसँगै बर्दिवासचोकमा पानीको जारको १०० र एक लिटर पानीको बोतलको ५० रुपैयाँसम्म व्यापारीले लिने गरेका उपभोक्ताको गुनासो छ ।
बाढी र डुबान समस्यासँगै पानीका अतिरिक्त अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकासिएको छ । आपत्विपद्कै बेला गुणस्तरहीन सामान पनि उपभोक्ता लिन बाध्य देखिएका छन् । यस्तो बेला बजार अनुगमनलाई पनि राहत उद्धार कार्यक्रमको अङ्ग नै बनाएर सरकार र सम्बद्ध निकायले काम गर्नपर्ने बुद्धिजीवीले सुझाएका छन् ।