पत्रपत्रिका

पत्रकारले फोटो खिच्नथालेपछि यसरी भागे होटलमा दुई वटा रुम बुक गरेका मन्त्रालयका कर्मचारी…

जनकपुर । नियमतः सरकारी निकायले अघिल्लो मंगलबार अर्थात (असार २४ गते) पछि कुनै पनि शीर्षकमा रकम निकासा गर्ने चेक काट्न÷जारी गर्न नहुने हो। आर्थिक वर्ष समाप्त हुनुभन्दा ठीक एक साताअघि चेक काट्न/जारी गर्न कानुनले रोक लगाएको छ। तर, प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारी मंगलबार होटलमा बसेर योजना मूल्यांकन र चेक वितरणमा व्यस्त रहे।

जनकपुरको शिवचोकस्थित होटल सिटिस्टारको कोठा नम्बर २०५ र २०८ मन्त्रालयका नाममा ‘बुक’ थियो। दुवै कोठामा मन्त्रालयका कर्मचारी, प्रदेश सांसद र विभिन्न उपभोक्ता समितिका पदाधिकारी भरिभराउ थिए। सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा सबै भागाभाग भए। राजपा प्रदेश सांसद रानी शर्मा तिवारी होटल तल पार्किङ गरी राखिएको स्कुटी चढेर निस्किन्। होटल बाहिर सञ्चारकर्मी र फोटोपत्रकार थिए। सांसद तिवारी सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुको साटो क्यामेराको लेन्स छल्न खोज्दै होटलबाट बाहिरिइन्। कर्मचारीले ल्यापटप र प्रिन्टर तथा उपभोक्ता समितिका पदाधिकारी गम्छामै फाइलको पोको बेरेर भागाभाग भए।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय हुन्। उनी राजपाका नेता पनि हुन्। राजपा समर्थित एक पत्रकारले नै अन्य सञ्चारकर्मीलाई आर्थिक वर्षको अन्त्यमा होटलबाट चेक बाँड्ने काम भइरहेको जानकारी गराएका थिए। मन्त्री रायका स्वकीय सचिव सीताराम यादवले मन्त्रालय साँघुरो भएको र निर्देशनालय भवनको भुइँतल्लामा वर्षाको भेल पसेर ठाउँको अभाव भएपछि कर्मचारीले होटलमा बसेर काम गर्नुपरेको बताए। ‘आर्थिक वर्षको अन्तिम दिन। कर्मचारी संख्या अत्यन्तै न्यून छ। उपभोक्ता समिति र तिनका पदाधिकारीको चाप अत्यधिक छ। यस्तो अवस्थामा मन्त्रालय रनिर्देशनालयको ठाउँ अपुग भएपछि होटलमै गएर कर्मचारीले काम गर्नुपरेको हो,’ उनले भने।

मन्त्रालयका सचिव जगदीशप्रसाद गुप्ताले भने आफ्ना कुनै कर्मचारीले होटलमा गएर काम नगरेको जिकिर गरे। उनले भने, ‘यहाँ निर्देशनालयमै पर्याप्त ठाउँ छ। आर्थिक वर्षको अन्तिमतिर उपभोक्ता समितिका पदाधिकारीको चाप बढ्न सक्ने अनुमान गरेर पल्लो घर पनि भाँडामा लिएका छौं।’ होटलमा बसेर अन्तिम दिन मन्त्रालयका कर्मचारी के काममा व्यस्त छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा सचिव गुप्ताले भने, ‘हाम्रा कुनै कर्मचारीले कुनै होटलमा गएर काम गर्नुपर्ने आवश्यकता छैन।’ मन्त्रालयकै अर्का एक कर्मचारीले भने पर्यटनसम्बन्धी योजनाअन्तर्गत केही उपभोक्ता समितिको रकम र फाइल फस्र्र्योट बाँकी रहेको र तिनीहरुकै योजना मूल्यांकन गर्न होटलको दुईवटा कोठा मन्त्रालयबाटै बुक गराइएको जानकारी दिए। प्रदेश सरकारकै भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका उपभोक्ता समितिहरूको फाइल फस्र्र्योटको काम पनि जनकपुरकै होटल शुभम्मा जारी छ। नागरिक दैनिकका अनुसार, मंगलबार अबेरसम्म मन्त्रालय मातहतका पूर्वाधार डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर (डिइ) दीपेन्द्र चौधरीलगायत कर्मचारीको टोलीले होटलको कोठा नम्बर १०२, १०४, १०५ र १०७ मा बसेर फाइल मिलाउने तथा चेक वितरण गर्ने काम गरिरहेको छ। प्रदेशस्तरीय एक नेताले फोनमा नागरिकसँग भने, ‘आर्थिक वर्षको अन्त्यमा अवैध रुपमा योजना मूल्यांकन र चेक वितरण भइरहेको छ। वर्षभरि थाँती राखेको काम दुई दिनमा फस्र्योट गरिँदैछ।’