पर्यटन/संस्कृति

आज साउने सङ्क्रान्तिः कसरी मनाईन्छ ? हरीयो चुरा र मेहन्दीको महत्व के त ?

काठमाण्डौ । आज साउने सङक्रान्ति अर्थात साउन महिनाको पहिलो दिन । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा विभिन्न तकिाले मनाईदै छ । साउन महिनालाई महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने एक प्रकारको उत्सवको रुपमा लिने गरेका छन् ।

साउन आउने वितिकै महिला तथा युवतीहरुले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको देखिन्छ । पहिला–पहिला श्रीमानको दिर्घायुको कामनाको लागी साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने चलन थियो भने आजकल हरियो चुरा र मेहन्दी फेसन बनेको देख्न सकिन्छ । साउनमा हरियो चुरा नै लगाउनुका पछाडी वेग्लै कारण रहेको बताईन्छ ।

असारमा पानी परेपछि साउनमा जताततै वातावरण हरियो नै हुने जसले गर्दा घरका महिलाले हरियो चुरा लगाउनुलाई शुभ संकेतको रुपमा लिने गरेको भन्ने भनाई पनि रहेको छ । विवाहित तथा अविवाहिताहरुले साउनमा हरियो चुरा र मेहन्दी लगाउनुका साथै भगवान शिवको अराधना गर्दैआए पनि आजभोलि हरियो चुरा श्रद्धा भन्दा बेसी फेसनको रुपमा लगाउने गरिएको छ ।

केही वर्ष यता साउनमा मेहन्दीसँगै हरियो चुरामा विभिन्न रंगका चुरा मिलाएर लगाउने गरिएको छ । विशेषगरी अहिले कलेजका छात्रा तथा युवतीहरुले हरियोसँगै पहेलो चुरा मिलाएर लगाउने बढि देख्न सकीन्छ ।  यती मात्र हैन कपडा पनि हरियो रंगको नलगाएका हैनन प्रसस्त देख्न सकिन्छ । आजको दिन हरियो चुरा लाउने महिलाहरुको घुँईचोले श्रिंगारको पसल भरिभराउ देख्न सकिन्छ ।

यस्तै साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए । साउन महीनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भन्ने प्रचलन पनि छ ।