समाचार

बाढीपहिरोपीडितको उद्धार र राहतमा सेनाको सहयोग जारी

काठमाण्डौ । नेपाली सेनाले वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित खोज, उद्धार तथा राहत जारी राखेको छ ।

सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वितरण गरिने राहत सामग्री सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पु¥याउन सहयोग गर्नाका साथै स्थानीय स्तरमा राहत वितरणमा सहयोग जारी राखेको जनाएको छ । असार २६ गतेदेखि परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित जनजीवन सामान्य अवस्थामा ल्याउन सेनाले झण्डै १५ हजार सैनिक खटाएको छ ।

यस्तै पहिराका कारण अवरुद्ध विभिन्न राजमार्ग पुनः सञ्चालनमा ल्याउन तथा तटीय क्षेत्रमा तटबन्ध निर्माण, नाला सफाइलगायत कार्य जारी राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज, उद्धार र राहतका लागि काठमाडौँमा दुई एमआई १७, एक एएलएच, एक अगुष्टा तथा एक इक्युरेल हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआई १७ हेलिकप्टर तयारी अवस्थामा राखिएको निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।