समाचार

दुषीत पानी पिउन वाध्य वाढी पहिरो पीडितः २८ जिल्लामा सरुवा रोगको त्रास

काठमाडौं । गत बिहिबार देखि ३ दिनसम्म मुलुकमा आएको अविरल वर्षाबाट प्रभावित विभिन्न जिल्लामा वाढी पिडीत दुसीत पानी पिउन वाध्य छन । मुलुकका २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएका छन् । बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिसँगै सरुवा रोगको जोखिम देखिएको चिकित्सकले बताएका छन ।

स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश शाहले सरुवा र किटजन्य रोगको जोखिम रहेको बताए । झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायत सरुवा रोगको जोखिम रहेको उनले बताए। तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकन गुनिया लगायत कीटजन्य रोगको उच्च जोखिम रहेको छ ।

डुबानमा रहेका बस्तीमा दूषित पानीले सरुवा रोगको संक्रमण हुनसक्ने चिकित्सकहरू बताउँछन् । सरुवा रोग विज्ञ डा. वासुदेव पाण्डेका अनुसार दूषित पानीले तत्कालै सरुवाजन्य रोगहरू देखा पर्न सक्छन । उनले ‘खुला ठाउँमा बस्नु पर्दा सर्पदंशको जोखिम समेत रहेको बताएका छन ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट ६९ जनाको मृत्यु भएको छ । १० हजार ४ सय ८५ घरधुरी विस्थापित भएका छन । विस्थापितलाई छिटो व्यवस्थापन गर्नुपर्ने खाँचो चिकित्सक औंल्याएका छन । विस्थापितलाई समयमै व्यवस्थापन गर्न नसके जथाभाबी गरिने दिसा पिसाबबाट संक्रमण भएर महामारी फैलन सक्ने डा. पाण्डेले बताएका छन ।

स्वास्थ्य सेवा विभागले ३ चिकित्सकसहितको टोली प्रदेश २ मा पठाउन लागेको छ । महामारी व्यवस्थापन शाखा प्रमुख डा.शाहले ‘पानी र खानाजन्य रोग फैलने जोखिम रहेको बताए । खानेपानी सुद्धीकरण र चर्पीको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको र जनचेतना फैलाउने र समयमै उचित व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिएका छन ।

महिला र बालबालिका यसबाट बढी प्रभावित भएका छन् । पानी दूषित भएकाले खाना खानअघि हात धुनसमेत समस्या भइरहेको छ । डा. पाण्डे पानी सुद्धीकरणका लागि क्लोरिन प्रयोग गर्नुपर्ने बतएका छन । विस्थापितलाई दैनिक जीवनयापनका लागिसमेत समस्या भइरहेको छ । सरुवाजन्य रोग नियन्त्रण तथा पीडितलाई आइपर्ने स्वास्थ्य समस्या समाधानमा जुट्न नेपाल चिकित्सक संघले चिकित्सकहरूसँग अपिल गरेको छ ।