अन्तर्राष्ट्रिय

बाढीका कारण बङ्लादेशमा २० को मृत्युः पाँच लाख प्रभावित

ढाका । बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख जनता प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रभावितमध्ये हजारौँ परिवार विस्थापित भएका छन् ।

प्रकोप व्यवस्थापन विभागका अबु बाकरले झण्डै पाँच लाख जना प्रभावित भएको र १८ जिल्लामा बाढी गएको सिन्ह्वालाई जानकारी दिएका छन । अत्यधिक बर्षा र सिमाना जोडिएको भारतको पहाडी क्षेत्रबाट आएको पानी संकलन भएपछि बाढीको रूप लिएको अधिकारीहरुले जनाएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोलीहरु खटाइएको र उनीहरुले डुवानमा परेकालाई बाहिर निकालेको जनाइएको छ । बाढी प्रभावित हजारौ परिवारलाई विभिन्न शिविरहरुमा राखिएको छ भने कतिपयलाई अस्थायीरूपमा खुल्ला र सुख्खा ठाउमा लगिएको छ ।

सरकारी अधिकारीहरूका अनुसार बङ्लादेशको उत्तरपुर्वी क्षेत्रमा पर्ने सिल्हेट, सुनाम्गन्ज र मौल्भीबजार र दक्षिणी पूर्वी क्षेत्रमा पर्ने छट्टोग्राम, रङगमती र कक्स बजार बढी प्रभावित भएका हुन् । बाढीले देशका धेरै भागमा भवन, बाटोलगायत धेरै भौतीक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरूले बाढीले पारेको असर, क्षति, उद्धार तथा खोजीसम्वन्धी दृश्यहरु देखाइरहेका छन् । प्रधानमन्त्री शेख हसिनाले बाढी प्रभावितहरुलाई खोजी तथा उद्धार गर्दै आवश्यक सम्पूर्ण सहयोग गर्न निर्देशन दिनुभएको छ । उहाँले सवै क्षेत्रबाट उच्च सतर्कता र सहयोगका लागि पनि आग्रह गर्नुभएको छ ।