खेलकुद

विभागीय टिम पुलिस ललित स्मृति कप अण्डर–१८ फुटबलको सेमिफाइनलमा

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप अण्डर–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोमा सोमबार भएको क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । एन्फा कम्प्लेक्समा रोमान्चक बनेको खेलमा पुलिसलाई जित दिलाउन मन्जिल राईले निर्णायक गोल गरे । उनले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।

पुलिस सेमिफाइनल प्रवेश गरेसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पुरा भएको छ । अब पुलिसले जावलाखेल युथ क्लबको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।