तस्विरहरु

बाढीपहिरो पीडितसँग हात मिलाउँदै राहत/उद्दारमा १५ हजार सेना (तस्विरहरु)

नेपाली सेनाले मुलुकभर हालसम्म बाढी तथा पहिरोपीडित ७२३ जनाको सकुशल उद्धार गरको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको र बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाएको छ ।
यही असार २६ गते साँझबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ । जनधनको थप क्षतिको सम्भावनालाई न्यूनीकरण गरी जनजीवनलाई सामान्य अवस्थामा ल्याउने उद्देश्यका साथ सेनाका विभिन्न स्थानमा तैनाथ युनिटबाट करीब १५ हजार सेना परिचालन गरिएका छन् ।

अविरल वर्षासँगै गएको पहिरोका कारण मुलुकका विभिन्न स्थानका सडक अवरुद्ध भएकामा उल्लेखित स्थानमा फौज परिचालन गरी यातायात आवागमनमा सहज गर्न सेनाले सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैगरी १४ स्थानमा तटबन्ध निर्माण, नौ स्थानमा पहिरो पन्छाउने कार्य, चार स्थानमा विद्युत् प्रशारण लाइनको सुरक्षार्थ मर्मत, सात स्थानमा खोला, ढल, नाली खोल्ने कार्य भएको साथै राहत वितरण र अन्य उद्धारका कार्यलाई निरन्तरता दिइरहेको निर्देशनालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खोज, उद्धार तथा राहतका लागि सेनाले काठमाडौँमा दुई एमआइ १७, एक एएलएच, एक अगुष्टा र एउटा इक्युरेल हेलिकोप्टर तयारी अवस्थामा राखेको छ भने इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआइ १७ हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।

नेपाली सेनाको फेसबुकबाट