समाचार

प्रशासकीय अधिकृतलाई २४ घण्टा कार्यालय नछाड्न मन्त्री पण्डीतको निर्देशन

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ । अहिले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए ।

मन्त्रालयले विपद्को सयममा कतिपय स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा उपस्थित नभएका र सो कारणले स्थानीय तहबाट हुने खोज तथा उद्धार, तत्कालीन राहत तथा शीघ्र पुनःलाभका काममा बाधा परेको भन्ने गुनासो मन्त्रालयमा आएकाले कार्यालय छाडेर कतै नगई राहत र उद्धारमा सहयोग गर्न निर्देशन दिएको छ ।

केही दिनदेखि मुलुकमा अविरल वर्षाका कारण मानवीयसहित ठूलो जनधनको क्षति पुगेको छ । निर्देशनमा विपद्को प्रभावकारी र समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न सबै प्रमुख प्रशासकिय अधिकृतले आ–आफ्नो स्थानीय तह नछाड्न तथा कुनै कारणले कार्यालयमा उपस्थित नभएको भए २४ घण्टाभित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न भनिएको छ ।