कृषि

व्यावसायिक अलैँची खेती गर्दै बनाईयो सिङ्गो गाउँ अलैँची ‘ब्लक’

तारानाथ आचार्य / बाग्लुङ । बागलुङको जैमिनी नगरपालिकाले चार वडामा फैलिएको सिङ्गो गाउँलाई अलैँची ब्लक बनाएर व्यावसायिक अलैँची खेती शुरु गरिने भएको छ । अलैँचीका लागि उपयुक्त हावापानी रहेका चार वटा वडालाई समेटेर खेती बिस्तार गर्ने भएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर नगरपालिकाले अलैँची ‘ब्लक’ घोषणा गर्ने नीति लिएको नगर उपप्रमुख लीला रानाले बताए । नगरको वडा नं २ र ३ दमेकमा किसानले अलैँचीको उत्पादन गर्दै आएका छन् । थप दुई वडामा समेत खेती बिस्तार गरेर ‘ब्लक’ घोषणा गर्ने कार्यक्रम रहेको रानाले बताए ।

वडा नं ९ पैँञ्युथन्थाप र वडा नं १० राङखानीमा पनि अलैँची खेती बिस्तार गर्ने योजना रहेको छ । “घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको अलैँची बिस्तार गर्ने सोंच बनाएका हौँ”, उपप्रमुख रानाले भने, “किसानलाई बिरुवा, तालीम र बजारीकरणमा सहयोग गरेर व्यावसायिक उत्पादनमा जोड दिनेछौँ ।”

अलैँची ‘ब्लक’ घोषणा गर्नका लागि नगरपालिकाले प्रदेश सरकारसँग समेत माग गरेको छ । नगरले छनोट गरेका चारवटै वडा अलैँचीका लागि उच्च सम्भावना भएका क्षेत्र हुन् । भौगोलिक बनावट, माटोको प्रकृति र हावापानीका हिसाबले दमेक, पैञ्युथन्थाप र राङ्खानीमा अलैँची उत्पादन राम्रो हुने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए ।

“अहिले पनि दमेकका केही अगुवा किसानले अलैँची लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ”, शर्माले भने, “चारवटै वडाको उपल्लो भू–भाग अलैँचीका लागि सम्भावना भएका क्षेत्र हुन् । अलैँची खेतीको ‘ब्लग’का रुपमा घोषणा गर्न ५०० हेक्टर जमीन आवश्यक पर्छ । नेपाल सरकारले ‘ब्लक’ घोषणाका लागि बनाएको प्रावधानअनुसार चार वडामा खेती गर्दा ५०० हेक्टर जमीन नपुगेमा वडा नं ४ सर्कुवामा समेत अलैँची खेती गर्नेगरी कार्ययोजना नगरपालिकाले बनाएको छ ।

अलैँची ‘ब्लक’ घोषणा गरेर व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेको नगरपालिकाले पहिलो चरणमा वडा नं २ र ३ दमेकका किसानलाई अलैँचीसम्बन्धी तालीम दिइसकेको छ । सामाजिक विकास मन्त्राललय, गण्डकी प्रदेशले किसानलाई तालीमका लागि सहयोग गरेको हो । उनीहरुलाई तालीमसँगै प्रतिकिसान २०० का दरले अलैँचीका बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले जानकारी दिए । दमेकका ११० जना किसानले तालीमसँगै बिरुवा पाएका छन् ।

दमेकका अगुवा किसानले यो वर्ष २५ क्विन्टल अलैँची उत्पादन गरेका थिए । थप बिरुवा र ‘ब्लक’ घोषणाको खबरले उत्साह थपेको किसान आनन्द अम्माइले बताए । दमेकमा उत्पादित अलैँची प्रतिकिलोग्राम रु ८०० मा बारीबाटै बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म प्रतिकेजी रु दुई हजार २०० मा बिक्री भएको अलैँची बिचौलियाका कारण ८०० मा झरेको भए पनि ब्लक घोषणाको कार्यक्रमले अलैँचीको मूल्य बढ्ने आशा पलाएको दमेकका किसान केशव सापकोटाले बताए ।

नेपालमा उत्पादित अलैँची भारतीय बजारमा बिक्री हुने गरेको तथ्याङ्क छ । अलैँचीको सुगन्धित बियाँबाट सुगन्धित औषधि र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलैँचीको तेल प्रयोग गरिने गरेको छ । आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिने जानकारहरु बताउँछन् ।