लुम्बिनी

३ घण्टा सिद्धार्थ राजमार्ग बन्दः दुईतर्फी खोल्ने प्रयास

पाल्पा । बिहिबार देखि लगातार ३ दिनसम्म मुलुभर आएको पानीले वाढी र पहिरो आउदा मुलुकका विभिन्न सडक अवद्ध भएका छन ।

लगातार पानी परिरहेका कारण सडक खुलाउन गाह्रो भएको छ । कुनै स्थानका सडक एकतर्फि रुपमा सञ्चानमा ल्याईएको भएपनि दुई तर्फि सञ्चालनमा ल्याउन प्रयास भैरहे पनि अझैै सञ्चालनमा आउन सकेका छैनन ।

डिभिजन सडक कार्यालय पाल्पाले शनिबारदेखि एकतर्फी संचालनमा आएको सिद्धार्थ राजमार्ग पाँच घण्टा बन्द गरेर दुईतर्फी खोल्ने प्रयास गरेको छ । त्यसका लागि डिभिजनले आज बिहान १० बजेदेखि ३ बजेसम्म बन्द गरेर डोजर, स्काभेटर, ब्रेकर लगाउने जनाएको छ ।

कार्यालयले हिजो बेलुकी सूचना प्रकाशन गरेर आज दुईतर्फी संचालनको प्रयास स्वरुप सडक बन्द गरेरै भए पनि काम गर्ने जनाएको थियो । डिभिजन प्रमुख केदार नेपालका अनुसार दुबैतर्फका सवारीसाधन रोकेर सडक छेउछाउको पहिरो र ढुङ्गा हटाउन लागिएको हो ।

उनका अनुसार मोटरसाइकल र चालक बगाउने गरी शुक्रबार खसेको पहिरोको माथिल्लो भागमाठूलाढुंगा रहेकाले त्यसलाई समेत हटाउनका लागि सडकमा सवारी साधन बन्द गर्न लागिएको बताए । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३, दोभानप्रहरी चौकीदेखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउका ढुङ्गा र पहिरोले दुर्घटनाको जोखिम बढाएको छ ।

वर्षायाम सुरु भएसँगै प्रत्येक वर्ष बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स क्षेत्र अत्यधिक जोखिम क्षेत्रका रुपमा लिइन्छ । त्यसबाहेक तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्र, झुम्सा, केराबारी लगायतका क्षेत्रमा पनि पहिरो र ढुंगा खसेको छ ।