समाचार

निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्नुहोस्ः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीले कसैको दबाबमा नपरी निष्पक्ष तथा पारदर्सी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन ।

भन्ज्याग दैनिक पत्रिकाको सम्पादकीय संग्रहको आईतबार विमोचन गर्दै उनले पत्रिका शुरु गर्न सजिलो छ तर जनताबीच टिकाई राख्नु चुनौतीपूर्ण रहेको बताउँदै देशको बदलिँदो परिस्थितिसँगै आर्थिक, सामाजिक रुपान्तरणलाई पनि पत्रकारले आफ्नो समाचारमा प्राथमिकता दिनुपर्ने बताएका हुन ।

मन्त्री ज्ञवालीले सञ्चारजगत् अहिले उद्योगको रुपमा प्रतिस्थापित भएकोमा खुशी व्यक्त गर्दै पत्रकारले मन नपरेको व्यक्तिलाई तेजोबध गर्न नहुने र प्रतिशोध लिने व्यक्तिको हतियार बन्न नहुने चर्चा गरेका छन । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले पत्रकारिताजगत् जनताको दुखसुखको आधार हुनुपर्ने बताउँदै देशको परिवर्तित परिस्थितिसँगै समृद्धिको पक्षमा पनि बहस हुनुपर्ने औँल्याए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि धेरै संघर्ष गरेको बताएका छन । महासङ्घका अर्का पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालका अग्रज पत्रकारहरु इतिहासको ऐनाको रुपमा रहेको चर्चा गर्दै प्रविधिले फड्को मारेको अहिलेको स्थितिमा पत्रकारले मुलुक, समाज तथा आवश्यकतामा जोडेर पत्रकारिता गर्नुपर्ने बताएका हुन ।