अन्तर्राष्ट्रिय

मनसुनी बर्षाका सुरुः विचल्लीमा बङ्गलादेशी शिविरका पाँच हजार रोहिंग्या

बङ्गलादेश । अत्यधिक मनसुनी बर्षाका कारण आएको बाढी र डुवानमा परी बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका रोहिंज्या शरणार्थी शिविरमा बस्दै आएका करिब पाँच हजार शरणार्थीले बासस्थान गुमाएका अधिकारीहरूले आइतबार जनाएका छन् ।

बङ्गलादेशको मौसमविज्ञान विभागले म्यानमारबाट शरणार्थीका रूपमा बङ्गलादेशको कोक्स बजार क्षेत्रमा आइ बसेका करिब पाँच हजार परिवार शरणार्थी बाढी र डुवानका कारण पछिल्ला केही दिन यता विस्थापित बनेको बताएको छ । अन्तर्रा्ष्ट्रिय शरणार्थी संगठन (आइओएम) ले भनेको छ, “अप्रिलदेखि जुलाई मध्यसम्म उक्त शिविरमा रहेका करिब १० जना रोहिंज्या शरणार्थीको बाढी र डुवानका कारण मृत्यु भएको छ भने चार हजार ८८९ घर टहरा डुवानमा परेका छन् ।”

शरणार्थी शिविरमा जुलाई २ देखि डुवानको समस्या भएको र कतिपय स्थानमा दुई फिटभन्दा बढी पानी जम्मा भएकाले उनीहरू शिविरबाट विस्थापित बनेका हुन् । बाँसले बनेका कमजोर संरचनालाई बर्षापछि आएको बाढीले सयौँ घर टहरालाई बगाएको पनि आइओएमले जनाएको छ ।

म्यानमारको सीमा क्षेत्रमा बङ्गलादेशी भूिममा घरटहरा रहेका र भिरालो क्षेत्रमा करिब २०० भन्दा बढीस्थानमा पहिरो गएकोले शिविरको बसोबासमा खतरा सिर्जना भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । अप्रिलपछि कम्तीमा १० जना शरणार्थीको मृत्यु भएको र छ हजारभन्दा बढी शरणार्थी विस्थापित बनेका राष्ट्रसंघले पनि जनाएको छ ।

विस्थापितहरूले आफूहरूलाई अत्यधिक बर्षापछि आएका पहिरोका कारण खाद्यान्न वितरण केन्द्रसम्म पनि पुग्न कठिनाई हुँदा दैनिक खानेकुराको समस्यासमेत भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका प्रवक्ता गेम्मा स्नोडनले मनसुनी समस्याका कारण शिविरहरूमा थप सहयोगका वृद्धि गर्नका लागि समस्या उत्पन्न भएको बताएका छन । अहिलेसम्म बाढी, पहिरो, र डुवानमा परेका करिब एघार हजार ४०० शरणार्थीलाई थप खाद्यान्न तथा बन्दोबस्तीका सामान आवश्यक रहेको उनले बताएका छन ।

अघिल्लो बर्ष जुलाईको अन्त्यसम्म जम्मा सात हजार शरणार्थीलाई यस प्रकारको सहयोग वितरण गरिएको जनाउँदै यस बर्ष थप सहायताको आवश्यकता हुने रोहिंज्यको सङ्ख्या अत्यधिक बढेको उनले बताए । बङ्गलादेशमा करिब दश लाख रोहिंज्या शरणार्थी शिविरमा बस्दै आएको आइओएमको अनुमान छ ।