समाचार

काँग्रेसद्वारा कृयाशील सदस्य आलेको निधनप्रति दुःख व्यक्त

काठमाण्डौ । नेपाली काँग्रेसले पार्टीका स्थानीय नेता गोपालकृष्ण आले र धादिङका पूर्वजिल्ला सदस्य रामबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उहाँहरुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । काठमाडौँका सक्रिय व्यक्तित्व आलेको ६८ वर्षको उमेरमा आज यहाँस्थित ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्व आले २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन धापासी गाविसको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । आलेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

तामाङको भने हृदयाघातबाट आज बिहान ४३ वर्षमा निधन भएको हो । काँग्रेसले रुवी भ्याली गाउँपालिका–४ सेर्तुङ निवासी तामाङले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको बताउँदै उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको बताएको छ ।