समाचार

काठमाडौँ–नुवाकोट जोड्ने चारवटै सडक तत्काल खुलाउन माग गर्यौँः नेता केसी

काठमाण्डौ । नेपाली काँग्रेस नुवाकोटले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको नेतृत्वमा आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई भेटेर वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँबाट नुवाकोट जाने बालाजु–ककनी, त्रिशूली, गल्छी–देवीघाट त्रिशूली र टोखा–छहरे–शिवपुरी–त्रिशूली तीनवटै बाटो बिग्रेको भन्दै बाटो तत्काल खुलाउन माग गरिएको सभापति केसीले बताए । “बाटो बिग्रदा राजधानी आउन जान यात्रुलाई गाह्रो भएको छ,” उनले भने । काठमाडौँ–नुवाकोट सडक एक हप्ताभित्र मर्मत नभए आन्दोलन गर्नेसमेत काँग्रेसले जनाएको छ ।

भेटका क्रममा मन्त्री महासेठले काठमाडौँबाट नुवाकोट जाने बाटोको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी काँग्रेस नेता रमेश महतले जानकारी दिए । निर्माण भइरहेका सडक हाल बजेटविहीन अवस्थामा रहेका कारण नुवाकोटका १३७ सडक अलपत्र अवस्थामा रहेका उनले बताए ।