समाचार

विराटनगरका अधिकांश वडा डुबानमा, राहत वितरण तयारीमाः मेयर पराजुली

बिराटनगर । पाँच दिनदेखि परेको वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिका–१, ६, ७, ८, ११, १२, १५, १५, १८ र १९ वडा सबैभन्दा बढी डुबानमा परेका छन् ।

बाढी बस्तीमा पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । विराटनगर–१२ बखरीमा मात्र ८० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए । “घरभित्रै सम्म बाढी पसेको छ, खाद्यान्न, लत्ताकपडालगायत सामग्री नष्ट भएको छ”, उनले भने । बाढीबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार बाढीपीडितलाई स्थानीय सामुदायिक विद्यालय, अग्लो स्थान तथा समुदायिक भवनमा सुरक्षित रुपमा राखिएको छ । महानगरले खानेबस्नेसमेत व्यवस्था मिलाएको उनले बताए । प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री, खाद्यान्न्न र स्वच्छ पानी वितरण गरेको छ ।

“बाढीपीडितको तथ्याङ्क तथा क्षतिको विवरण सङ्कलन भइरहेको छ, सँगसँगै राहत सामग्री वितरण गरिरहेका छौँ”, प्रमुख पराजुलीले भने । बाढीपीडितको उद्धार तथा राहत वितरणमा महानगरपालिका, स्थानीय सङ्घसंस्था, नेपाल रेडक्रस, स्थानीयवासीलगायत जुटेका छन् ।

प्रमुखजिल्ला अधिकारी रमेश केसीका अनुसार जिल्लामा बाढीबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट पाँच हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।