प्रदेश 1

ओलाङचुङगोला बस्ती वर्षेनी कटानको चपेटामा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित ओलाङचुङगोला बस्ती बाढी र कटानको चपेटामा परेको छ । तमोर नदी किनार छेउमा रहेको बस्तीको भाग बाढी र कटानले क्रमशः घट्दै गएको छ । कटानका कारण तत्काल कुनै जोखिम नभए पनि क्रमशः बस्तीको भाग घट्दै गएकाले भविष्यमा जोखिम हुने सोही ठाउँका वडाध्यक्षसमेत रहेका स्थानीय छेतेन शेर्पाको भनाइ छ । “वर्षौँदेखि सामान्यरूपमा नदीले बस्तीको भाग कटान गरिरहेको छ, तत्काल जोखिम नभए पनि भविष्यमा जोखिम छ”, शेर्पाले भने ।

ठूलो वर्षा भएर नदीमा बाढी आउँदा ढुक्कले बस्ने अवस्था नरहेको अर्का स्थानीयवासी टाँसी शेर्पाले बताए । “ठूलो पानी परेका बेला बाढी आउला कि भन्ने डरले राति ढुक्कले सुत्ने अवस्था हुँदैन, तर अहिलेसम्म कुनै क्षति भएको छैन”, टाँसीले भने । तत्काल जोखिम नदेखिए पनि बस्तीको सुरक्षाका लागि भने अहिलेदेखि नै चासो राख्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

नदीकै कटानका कारण बस्ती मात्रै नभई नजिकै रहेको ऐतिहासिक दिकी छ्योलिङ गुम्बासमेत असुरक्षित हुनसक्ने स्थानीयवासीको भनाइ छ । बस्तीको केही माथि ४०० वर्ष पुरानो उक्त ऐतिहासिक गुम्बा छ । तमोर नदीको कटानले भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै वडाले कटानलाई रोकथाम गर्नेतर्फ सोचिरहेको वडाध्यक्ष शेर्पाले बताए । वडामा आएको सानो बजेटले मात्रै रोकथामका लागि नपुग्ने भन्दै यसका लागि प्रदेश र सङ्घीय सरकारले समेत चासो दिनुपर्नेमा उनको जोड छ ।

ओलाङचुङगोलामा शेर्पा सुमदायका करीब ५३ परिवारको बसोबास छ । वर्षौँदेखि बसोबास गर्दै आएका शेर्पा समुदायले त्यहीँ बसेर पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार गर्दै आएका छन् । सदरमुकामबाट झण्डै दुई दिनको पैदलदूरीमा पर्ने उक्त हिमाली बस्ती चीनको तिब्बतसँग सीमा जोडिएको क्षेत्र हो । तिब्बतस्थित रिउबजारबाट सडक सञ्जालले उक्त बस्ती जोडिएको छ । तर यातायात भने सञ्चालनमा छैन ।

यता सदरमुकामतर्फबाट निर्माण भइरहेको ओलाङचुङगोला लोकमार्गअन्तर्गतको सडक अझै ओलाङचुङगोलामा पुग्न सकेको छैन । निर्माणकै चरणमा रहेको सडक फक्ताङलुङको लेलेपसम्म पुगेको छ । अझै ओलाङचुङगोलामा जोडिन करीब २८ किलोमिटर बाँकी रहेको बताइएको छ ।