गण्डकी प्रदेश

अब होटल तथा रेष्टुराँमै पाहुनाहरुलाई उपचारको व्यवस्था

बागलुङ । बागलुङका होटल तथा रेष्टुँरामा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन् । सदरमुकाम बागलुङ बजारका होटल तथा रेष्टुराँले आफ्नो पाहुना र काम गर्ने मजदुरलाई लक्षित गरी प्राथमिक उपचारका लागि ‘फस्ट एड बक्स’ राखेका छन् ।

होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका हुन् । होटलमा आउने पाहुना र पर्यटकको सहजताका लागि र स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्नका निम्ति होटल तथा रेष्टुराँमा ‘फस्ट एड बक्स’ राखेको होटल तथा रेष्टुराँ व्यवसायी समिति अध्यक्ष निलेश राजभण्डारीले बताए । नेपालमै पहिलोपटक सार्वजनिक यातयातका साधनमा ‘फस्ट एड बक्स’ राखेको काठमाडौँको वेलनेस टिमले बागलुङका दुई दर्जन होटलमा उक्त रेष्टुराँमा समेत प्राथमिक उपचारको व्यवस्था गरेको वेलनेस टिमका अध्यक्ष नितु खड्काले बताइन् ।

“हामीले हाम्रा पाहुना र काम गर्ने मजदुरको स्वास्थ्यमा ख्याल राखी यो सेवा सञ्चालन गरेका हौँ”, राजभण्डारीले भने, “होटलमा खानपान मात्र होइन, सामान्य औषधि उपचारको समेत व्यवस्था गरिएको छ”, राजभण्डारीका अनुसार आगामी दिनमा बागलुङ जिल्लाका सबै होटल तथा रेष्टुराँमा प्राथमिक उपचारको व्यवस्था गरिनेछ ।

वेलनेस टिमबाट न्यूनतम शुल्कमा खरीद गरिएको उक्त औषधि तथा औजारबारे होटल सञ्चालकलार्ई आवश्यक जानकारीसमेत दिइएको अध्यक्ष खड्काले बताए । होटल व्यवसायीले आम मानिसलाई स्वास्थ्यसम्बन्धी सचेतना जगाउन र हरेक घरमा प्राथमिक उपचारको औषधि हुनैपर्छ भन्ने सन्देश प्रवाह गर्न यस खालको कार्यक्रम ल्याइएको खड्काको भनाइ छ ।

स्वास्थ्य संस्था नभएको ठाउँ तथा तत्काल प्राथमिक उपचार गर्ने समयमा ‘फस्ट एड बक्स’ले निकै सहज पुग्ने भएपछि बागलुङबाट शुरुआत गरिएको वेलनेस टिमले जनाएको छ । प्राथमिक उपचारका लागि आवश्यक पर्ने १६ औषधि तथा औजार बक्समा रहेका छन् । सामान्य मानिसले पनि आफ्नो घरमा समेत ‘फस्ट एड बक्स’ राख्नुपर्ने भन्दै वेलनेस टिमका अध्यक्ष खड्काले सबैको सहयोग आवश्यक रहेको बताए । यस टिमले ‘हरेक घर, फस्ट एड बक्स’ भन्ने नाराका साथ देशभर अभियान सञ्चालन गर्ने जनाएको छ । संस्थाले विपन्न परिवारका लागि निःशुल्क वितरण गर्ने समेत जनाएको छ । बक्समा रु एक हजार ५०० बराबरको औषधि तथा औजार राखिएको खड्काले बताए ।

“स्वास्थ्य सचेतना जगाउने हाम्रो पहिलो चाहना हो”, खड्काले भने, “सार्वजनिक यातयातमा राखेको ‘फस्ट एड बक्स’ प्रभावकारी भएपछि होटलहरुमा राख्न शुरु गरेका हौँ ।” टिमले यात्रुलाई मध्यनजर गर्दै धवलागिरि अञ्चल यातायात समिति र बागलुङ भगवती यातायात समितिले सवारीसाधनमा राखेको थियो । टिमले गलकोट नगरपालिका वडा नं ३ को वडा कार्यालयमा १५, बागलुङ नगरपालिका वडा नं ३ को वडा कार्यालयमा १५ र वडा नं १ राखरेखाका स्थानीयवासीले पनि ‘फस्ट एड बक्स’ राखेका छन् ।