लुम्बिनी

खुकुरी प्रहार गरी मान्छे मार्ने दुईलाई प्रहरीले मोतीपुरको जङ्गलबाट यसरी समात्यो

लमही । दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । यस विषयमा अनुसन्धानलाई तीव्र पारिएको समेत प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार शनिबार नै मोतीपुरको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

शनिबार दिउँसो सवा दुई बजेतिर केही युवाको समूहले तुलसीपुर–११ स्थित जनबहारचोकमा खुकुरी प्रहार गर्दा ओली गम्भीर घाइते भएका थिए । घटना हुनुको कारण, घटनामा संलग्न व्यक्तिको पहिचानलगायतका विषयमा विस्तृत विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।