खेलकुद

टी–ट्वान्टी क्रिकेटमा नेपाललाई सफलताः पारस दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं । घरेलु टोली मलेसियाविरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सहज निकालेको छ । आज भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितका कप्तान पारस खड्काले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनरका रुपमा आएका कप्तान पारसले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

योसँगै कप्तान पारस टी–ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै पारस टी(ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वा्धिक रन बनाउने खेलाडी समेत बनेका छन् । नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी(ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

यस्तै नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाए । ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए । मलेसियाका अनवर रहमानले २ तथा मोहमद फिट्रीले १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २र२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो । योसंगै नेपालले घरेलु टोलिविरुद्धको २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले आइतबार दोस्रो खेल खेल्नेछ ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।