समाचार

बर्षा अझै लम्बिन सक्छ, दुई दिनसम्म उच्च सतर्क रहनुस्ः मौसमविद् अर्चना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आगामी दुई दिनसम्म रहने भएकाले जनसाधारणलगायत सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।

साथै आवश्यक परे विभागको मौसम तथा बाढी पूर्वानुमान शाखामा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था विभागले गरेको छ । विभागले मौसम तथा बाढीको दैनिक पूर्वानुमान लगायतका सूचना तथा बुलेटिनहरु बेभसाइट, इमेल, सामाजिक सञ्जालमार्फत सम्प्रेशण गर्दै आईरहेको विभागका प्रवक्ता एवं वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले बताईन् । नदीका जोखिमयुक्त तटीय क्षेत्रमा उच्च सतर्कताको सूचना एसएमएसमार्फत प्रवाह गरिरहेको उनले बताए ।

विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहिबारदेखि मनसुन थप सक्रिय भएको छ । बिहीबारदेखि नेपालका मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ । जसका कारण मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भई आज बिहानदेखि वाग्मती र कमला लगायत सो क्षेत्रका स–साना नदीमा समेत बाढीले खतराको तह पार गरेको छ ।

विभागकै मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा निरन्तर मनसुनी वर्षा सक्रिय भएपछि बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भन्दै उच्च सतर्कता अपनाउन सुझाएको छ ।

महाशाखाले आज साँझ मौसम पूर्वानुमान सम्बन्धी थप बुलेटिन जारी गरी पछिल्लो मौसमी अवस्थाको मौसम विश्लेषण गरेको छ । मुलुकको पूर्व र मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । पूर्व र मध्यका भागका तराई र पहाडका एक÷दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ । यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडी भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन सुझाव दिईएको छ ।

हाल मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ । यी प्रणालीहरूका कारण आगामी दुई दिन सम्म मनसुन सक्रिय रहने देखिन्छ ।

हाल देशभर लगातारको मनसुनी वर्षा जारी रहेको छ । आज राति देशभर पूर्ण वदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ । खासगरी पूर्व र मध्य क्षेत्रमा केही स्थानमा र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

पूर्व र मध्यका भू–भागका तराई र पहाडका एक/दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ । देशको केही स्थानहरुमा न्यून चापीय क्षेत्रका कारण हावाहुरीको सम्भावना समेत रहेको मौसमविद् श्रेष्ठले जानकारी दिईन् ।

शनिबार र आइतबार पनि देशभर वर्षा जारी रहने सम्भावना छ । पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भागका केही स्थानमा र पश्चिमी भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक÷दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ ।