प्रदेश 1

सुनसरी सदरमुकाम इनरुवाका अधिकांश वडा डुबानमा

बाढीका कारण सुनसरी सदरमुकाम इनरुवामा अहिलेसम्म ५३८ घर डुबानमा परेका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतमका अनुसार बाढीबाट इनरुवा–२ मा ४०, वडा नं ३ मा ६९, वडा ४ मा ५० घर, वडा नं ९ मा ३५ तथा १० मा ३५० घर डुबानमा परेको छ । सुनसरी, सेउती, टेङ्ग्रा, बूढी, मरियालगायत खोलामा आएको बाढीका कारण सयौँ घर डुबानमा परेको छ । इनरुवा–९ को २९ घरमा बाढी पसेपछि उनीहरुलाई सरस्वती माविमा राखिएको छ ।

डुबानमा परेकाको उद्धार तथा राहत उपलब्ध गराउन इनरुवा नगरपालिकाले पहल थालेको विपद् व्यवस्थापन समितिका सदस्य एवं इनरुवा–५ का वडाध्यक्ष अञ्जनी पोखरेलले बताए ।

यस्तै हरिनगर गाउँपालिका वसन्तपुरका ४५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुनसरी खोला किनारका बासिन्दालाई सचेत पारिएको छ । प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सप्तकोशी नदीमा पछिल्लो मापनअनुसार बहाव एक लाख ८३ हजार ७४५ क्युसेक रहेको छ । कोशी ब्यारेजका २३ ढोका खोलिएका छन् ।