लुम्बिनी

पाल्पाको सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिदै

पाल्पा । लगातारको वर्षाका कारण मुलुकका विविन्न स्थानमा झाडापखालाको महामारि फैलन सुरु गरेको छ । दुसित पानी र सडेगलेको खानेकुराका कारण झाडापखालाको महामारी फैलन लागेको हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ ।

साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् । तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३ जनामा झाडापखाला फैलिएको हो । रैनादेवी छहरा गाउँपालिका–१ का वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार दूषित पानीका कारण झाडापखालाबाट बिरामी परेका हुन् ।

दुई जनाको बिरामी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । केही बिरामीको गुल्मी क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष दर्लामीले बताएका छन । चार दिनदेखि पखाला, बान्ता, ज्वरो आउने लक्षण बिरामीमा देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि झाडाबान्ताका बिरामी बढ्दो छन् । जिल्ला अस्पताल पाल्पाका चिकित्सक गगन अधिकारीको नेतृत्वमा छ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

शुक्रबार ५ बजेसम्म ३० जनाको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको महामारी नियन्त्रण पाल्पाका फोकलपर्शन ईश्वरी न्यौपानेले जानकारी दिएका छन । चार दिनदेखि झाडाबान्ताग्रस्त बने पनि स्वास्थ्य कार्यालय, रैनादेवी छहरा गाउँपालिकाको बेवास्ताका कारण समयमा उपचार पाउन नसक्दा थप समस्या हुन पुगेको स्थानीयवासीको गुनासो रहेको छ । जिल्लाको स्वास्थ्यको टोलीमा जनप्रतिनिधि, प्रहरी अहिले प्रभावित क्षेत्रमा पुगेर बिरामीको उद्धारमा जुटेको वडाध्यक्ष दर्लामीले बताएका छन ।