अन्तर्राष्ट्रिय

छुट्टाछुट्टै दुर्घटनामा परी पाकिस्तानमा १६ को मृत्यु

एजेन्सी । पाकिस्तानमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी शुक्रबार कम्तीमा १६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार शुक्रबार बिहान भएको पहिलो दुर्घटनामा ११ पर्यटकको मृत्यु भएको छ ।

देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने कोहिस्तान जिल्लामा यात्रुबाहक जीप इन्दुज नदीमा खसेर उनीहरुको मृत्यु भएको हो । घटनामा परी अरु तीन जना घाइते भएको पनि अधिकारीहरुले जनाएका छन् ।मृत्यु भएका र घाइते भएकाहरु सबै एकै परिवारसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।

उनीहरु सेओ क्षेत्रबाट डासु क्षेत्रतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । चालकले नियन्त्रण गुमाएर जीप नदीमा खसेको प्रहरीको प्रारम्भिक भनाइ छ । पहाडी क्षेत्रको घुमाउरो सडकमा तीव्र गतिमा चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्को दुर्घटना सिन्ध प्रान्तको घोत्की जिल्लामा भएको अधिकारीहरुले जानकारी दिएका छन् । एउटै मोटरसाइकलमा पाँच जना चढेको र उनीहरु सबै जना सुरुङमा खसेको समाचारमा जनाइएको छ । उनीहरु पनि सबै एकै परिवारका परेका छन् । मृत्यु भएका मध्ये दुई जना बालबालिका र दुई महिला रहेका छन् । उद्धारकर्ताहरुले घण्टौँसम्म उनीहरुको शव खोजी गरेपनि पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।