खेलकुद

नेपालले आज मलेसियासँग पहिलो टी–ट्वान्टी खेल खेल्दैः कस्ले मार्ला त बाजी ?

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली मलेसियासँग आज पहिलो टी–ट्वान्टी खेल खेल्दैछ । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ । दुई खेलको सिरिजपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछन् ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।

मलेसिया र नेपाल हेड टु हेड

आईसीसीबाट एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी–ट्वान्टी सिरिज जितेको थियो । माघमा भएको उक्त सिरिजपछि नेपालले पहिलो पटक मलेसियासँग खेल्न लागेको हो ।

नेपाल मलेसियाविरुद्धको सिरिज जित्दै आईसीसीको वरियतामा आफुलाई सुधार गर्न चाहन्छ । हालसम्म टी(ट्वान्टीमा नेपाल र मलेसियाबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी रहेको छ । ४ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ । सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो ।