राजनीति

बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र क्षति न्यूनीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केही स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा उनले विपद्मा परेकाको उद्धार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मकरुपमा परिचालित निर्देशन दिएका हुन् ।

प्रकोप क्षेत्रमा उद्धारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सूचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले सम्पूर्ण स्थानीय तह र जनप्रतिनिधिलाई पनि पीडितको उद्धारमा खटिन आग्रह गरेका छन् । साथै उनले बाढी र पहिराबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै यस घडीमा एकअर्काको सहयोगमा जुट्न सबैलाई आह्वानसमेत गरेका छन् ।