समाचार

देशभरको अविरल वर्षाका कारण अहिलेसम्म १७ को मृत्यु, सात बेपत्ता

काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु भएको छ । सात बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

बाढी, पहिरोमा परेर काठमाडौँ र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङ, काभ्रे, रामेछाप, मकवानपुर, धादिङ, दोलखामा गरी सात जना घाइते भएका छन् । बेपत्ता हुनेमा पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँका गरी सात जना छन् ।

सुनसरी, सिराहा र भक्तपुरमा गरी चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीमा घरको पर्खाल भत्किएर स्थानीय निलु यादव, शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ । खोटाङमा भएको घटनामा परी रेखा राई, रोमन राई र रोहन राईको ज्यान गएको छ ।

काभ्रेको बनेपाका गोमा दङ्गाल र सोहनी दङ्गाल, रामेछापकी पदमकुमारी सुनुवार, भोजपुरका जगतबहादुर राई र जनक विक, ललितपुका सुरज जिम्बा, पर्साका निखिल पटेल, धादिङ गजुरीका अस्मिता तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाकी हेमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बाढी, पहिरोमा परेका सिराहाका दुई, सुनसरीका एक र भक्तपुरका एक गरी चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, रौतहट, पर्सा धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, ओखलढुङ्गा, सङखुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थान प्रभावित भएका छन् ।

पूर्वी पहाडी क्षेत्रमा पहिलो र तराईका क्षेत्रमा डुबानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षाका कारण प्रभावित भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ । गृह मन्त्रालयले सबै संयन्त्र प्रयोग गरेर उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।